
काठमाडौँ, १४ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए ।
‘संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु’–वरिष्ठ नेता पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहेको जानकारी दिए।
‘लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु । तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस’ पत्रकारलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले भने ।
विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरु भेलामा उपस्थित थिए । रासस