अफ्रिकी मुलुक अंगोलाकी इजाबेल दोस सान्तोसले आफ्ना पिता चार दशकसम्म राष्ट्रपति रहँदा अकुत पैसा कमाएको खुलासा भएको छ । उनको व्यापारिक साम्राज्यको गोप्य दस्तावेजहरू लीक गरिएपछि यो कुरा थाहा भएको हो ।

इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सको नेतृत्वमा बेलायतबाट निस्कने द गार्डियन पत्रिका र २० देशका पत्रकारहरूले गरेको अनुसन्धानमा दोस सान्तोसलाई उनको पिताको सरकारबाट प्राप्त असाधारण अवसरले फाइदा दिलाएको देखाउँछ । पिता जोसे एडुआर्डो दोस सान्तोसले सेप्टेम्बर २०१७ मा पदत्याग गरेका थिए ।

इजाबेलले आफ्नो अधिकांश समय लन्डनमा बिताउने गरेकी छन् र अफ्रिका तथा युरोपभरि उनका विभिन्न बैंक, टेलिकम, टीभी, सिमेन्ट, मदिरा, सुपरमार्केट र घरजग्गा व्यवसायमा उनको संलग्नता छ ।

यस अनुसन्धानलाई लुआन्दा लीक्स नाम दिइएको छ र यो ७१५ हजार इमेल, चार्ट, सम्झौतापत्र, लेखापरीक्षण र बहीखातामा आधारित छ । भ्रष्टाचारविरोधी निकाय प्ल्याटफर्म टु प्रोटेक्ट ह्विसलब्लोअर्स इन अफ्रिकाले यी दस्तावेज हात पारेको हो । उनीहरूले आईसीआईजेलाई यी दस्तावेजहरू सुम्पेका थिए ।

दोस सान्तोस र उनका पति व्यापारी तथा कला संकलक सिन्डिका दोकोलोले आफ्ना कर्मचारीहरू र कानूनी सल्लाहकारहरूका कम्प्युटर ह्याक गरिएको बताएका छन् । अंगोलाका नयाँ राष्ट्रपतिले राजनीतिक उद्देश्यका साथ आफूहरूलाई लखेटेको उनीहरू बताउँछन् । उनीहरूले आफ्ना वकिलमार्फत सबै आरोपलाई अस्वीकार गरेका छन् र राज्यको पैसाले व्यापारमा लगानी गरेको आरोपलाई पूरै नकारेका छन् ।

‘बहालवाला सरकारले राजनीतिक मकसद राखेर नियोजित रूपमा आक्रमण गरेको हो र यो पूर्णतः आधारहीन छ,’ दोस सान्तोसले बीबीसीलाई बताइन् । ‘मेरा सबै सम्पत्तिहरू व्यापारबाट कमिएका हुन् र सार्वजनिक ठेक्काबाट कुनै पनि फाइदा उठाएको छैन,’ उनको भनाइ छ ।

जोसे एडुआर्डो दोस सान्तोसले केही पनि गलत नगरेको भन्दै खुलापत्र लेखे र आफूले आफैंलाई वा अन्य कसैलाई राज्यको पैसा उपलब्ध नगराएको लेखे ।

तर अनुसन्धानले उनीहरूको दाबीलाई झूटो ठहर गरेको छ ।

तीन हप्ताअघि अंगोलाका महान्यायाधिवक्ताले दोस सान्तोस, दोकोलो र उनीहरूका मुख्य सल्लाहकारको सम्पत्ति रोक्का गर्ने घोषणा गरे । उनीहरूले देशको सार्वजनिक स्वामित्वका तेल र हीरा कम्पनीहरूसँग कारोबार गरेर देशलाई एक अर्ब डलरको घाटा लगाएको आरोप महान्यायाधिवक्ताले लगाए ।

अंगोलाका अभियोजनकर्ताहरूले दोस सान्तोस राज्यको तेल कम्पनी सोनानगोलको अध्यक्ष हुँदा गरेका गतिविधिका सम्बन्धमा फौजदारी अनुसन्धान शुरू गरेका छन् । उनीहरूले बेलायत, पोर्चुगल, स्विट्जरल्यान्ड, अमेरिका र कंगोका समकक्षीहरूसँग मिलेर सम्पत्ति छानबिन थालेका छन् । पैसा हस्तान्तरण गर्ने काम रोक्न तथा सूचना बटुल्न पनि उनीहरू लागिपरेका छन् ।

द गार्डियनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय