
लन्डनको ट्विकेनह्याममा बस्ने लाउरेन वालकी आमाले लाउरेनका पूर्वपतिसँग बिहे गरेको अनौठो घटना सार्वजनिक भएको छ । लाउरेन अहिले ३४ वर्षकी भइन् र १९ वर्षकी हुँदा उनले विमानस्थलमा काम गर्ने पल ह्वाइटसँग विवाह गरेकी थिइन् ।
आमा जुलीले छोरीको विवाह समारोहका लागि १५ हजार पाउन्ड खर्च गरेकी थिइन् । त्यसपछि लाउरेनले आमालाई पनि हनीमूनमा लगेकी थिइन् । त्यसको आठ हप्तापछि पलले विवाह तोडे अनि नौ महिनापछि आमा जुलीले पलबाट बच्चा जन्माइन् र आफूहरू जोडी बनेको बताइन् ।
लाउरेनले भनिन्, ‘मेरी आमासँग पलको साइनो गजबको थियो । तर मलाई त्यो खासै अनौठो लागेको थिएन किनकि आमा उसकी सासू हुनुहुन्थ्यो र उसले सुमधुर व्यवहार देखाउनु सही थियो । उनीहरू खुबै हाँस्थे । मैले चिन्ता लिनुपर्ने कुनै कारण थिएन । म आफ्नो विवाहित जीवन अघि बढाउन खोज्दैथिएँ । हाम्रो विवाह प्रमाणपत्रको मसी सुक्न समेत पाएको थिएन । पलको व्यवहारमा परिवर्तन आउन थाल्यो ।’
पलले पछि आफ्नो फोन लुकाउन थालेको उनले बताइन् । विवाहको चार हप्तापछि लाउरेनकी बहिनीले आमाको फोन हेर्दा जुली र पलबीच भएका एसएमएस पढिन् ।
आमालाई सोध्दा उनले ठाडै अस्वीकार गरिन् र ‘बौलायौ कि क्या हो’ भनिन् । ‘मैले पललाई यसको बारेमा सोध्दा उसको अनुहारबाट रगत हरायो र उसले मलाई उसको फोन हेर्न दिएन,’ लाउरेनले भनिन् । त्यसको केही दिनपछि पलले विवाहको औंठी हटाए र लाउरेन अनि उनीहरूकी सात महिनाकी छोरीलाई छोडेर गए । पल आमासँग बस्न थालेको सुनेपछि लाउरेनलाई संसारमा सबभन्दा बढी माया र विश्वास गरेका दुई व्यक्तिले धोका दिएको थाहा भयो ।
पल र जुली
पललाई पहिलोपटक भेट्दा लाउरेन १८ वर्षकी थिइन् र बिजनेस डेभलपमेन्ट म्यानेजर थिइन् । उनीहरू डेटिङ गर्न थाले र त्यसक्रममा उनी गर्भवती भइन् । उनीहरूको छोरी जन्मिएको केही समयपछि उनीहरूले विवाह गरे । पछि पलले लाउरेनलाई धोका दिएर सासुसँग बस्न थाले अनि सासु गर्भवती भइन् । पलले लाउरेनलाई छोडेको नौ महिनापछि लाउरेनकी आमा जुलीले बच्चा जन्माइन् । लाउरेनलाई विवाह गरेको पाँच वर्षपछि पलले जुलीलाई बिहे गरे । लाउरेन आफ्नी आमाको विवाहमा समेत सहभागी बनिन् ।
जुली अहिले बालबालिका सेवाको क्षेत्रमा काम गर्छिन् र पूर्वज्वाईंलाई नै पति बनाएर बसिरहेकी छन् । लाउरेनले हालै नयाँ पार्टनर भेटेकी छन् र बच्चा जन्माउने तयारी गरिरहेकी छन् । एजेन्सी