
अमेरिकाको सेन्ट्रल मिशिगनमा बस्ने हावर्ड किर्बीले इरमान्दारिताको उदाहरण प्रस्तुत गरेका छन् ।
केही दिनअघि उनले सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किनेका थिए । घर ल्याएर सुटकेस खोल्दा परिवारै छक्क पर्यो । सुटकेसमा लगभग ५० लाख रुपैयाँ थियो ।
शुरूमा त त्यति ठूलो रकमको के गर्ने भनी परिवार रनभुल्ल पर्यो । वकिललाई सोध्दा उनले पैसा राख्दा कुनै कानूनी समस्या नपर्ने बताए । तर पछि हावर्डले पैसाको वास्तविक मालिकलाई फर्काउने निर्णय गरे । एक नातेदारले पनि उनलाई त्यही सल्लाह दिए ।
त्यसपछि हावर्डले डलरले भरिएको सुटकेस शपिङ सेन्टरको म्यानेजरलाई फर्काए । सुटकेस मालिकको खोजी हुँदा न्युबेरीमा रहेको एक परिवारको भएको पत्ता लाग्यो । परिवारले पिताको निधनपछि सुटकेस नखोलिकन अन्य सामानसँगै त्यसलाई पनि सेकेन्ड ह्यान्ड शपलाई दान दिए ।
उक्त शपिङ सेन्टरले गरीबहरूलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउँछ । शपिङ सेन्टरका मालिकले किर्बीको इमान्दारीको प्रशंसा गर्दै सुटकेस फर्काएपछि वास्तविक मालिकलाई त्यो पुर्याउने जिम्मेवारी आफूहरूको भएको बताए । एजेन्सी



