
ब्राजिलको रियो ब्रान्को शहरमा प्रहरीको एक हेलिकप्टर सडकबाट उड्नै लाग्दा हुर्रिएर आएको एक ट्रक हेलिकप्टरको पंखामा ठोकिएको छ । दुर्घटनापछि हेलिकप्टरमा बस्ने दुईजना घाइते भएका छन् ।
घटनाको भिडियो फूटेजमा हेलिकप्टरको पंखा चलेको अनि त्यही बेलामा एउटा सेतो ट्रक आएर हेलिकप्टरकै बाटो हुँदै गएको देखिन्छ ।
त्यसको केही सेकेन्डपछि डरलाग्दो आवाज सुनिन्छ । हेलिकप्टरका पंखाहरू ट्रकको छेउमा ठोकिन पुग्छन् र त्यसको छतै काटिदिन्छन् अनि पंखाहरू कच्याककुचुक हुन्छन् ।
त्यही बाटो भएर गइरहेका गाडीवालहरू यो दृश्य देखेर रोकिन्छन् र छक्क पर्छन् । त्यसबाट निस्केको फोहर सडकभरि छरिन्छ ।
एकर सैन्य प्रहरीका कर्नेल ओलिभिएराले हेलिकप्टरमा त्यतिखेर पाँचजना रहेको बताए ।
दुईजनालाई हलुका चोटपटक लागेको र उपचारका लागि लगेको उनले जानकारी दिए ।
ट्रक चाहिँ प्रदेशको स्वास्थ्यमन्त्रीको कार्यालयले अस्पतालजन्य फोहर ओसारपसार गर्न उपयोग गर्थ्यो ।
ट्रक कम्पनीका व्यवस्थापक चार्ल्स मातोसले ट्रकमा रहेका तीनैजनालाई कुनै चोटपटक नलागेको बताए ।
घटना हुँदा हेलिकप्टर अपरेसन क्लोज बोर्डरमा सहभागी भएर उक्त क्षेत्रको गश्ती गरिरहेको कर्नेल ओलिभिएराले बताए ।
घटनाको कारण जान्नका लागि अनुसन्धान शुरू गरिएको छ ।



