साउदी अरेवियाको जुवेईलमा भएको सडक दुर्घटनामा धरानका पेमा तामाङ (कालु)को निधन भएको छ ।

मे ४ तदनुसार बैशाख २१ गते बिहिबार विहान काममा जाने क्रममा तामांगले चलाएको पिकअपलाई साउदी नागरिकले चलाएको विपरित दिशाबाट आएको कारले ठक्कर दिदां दुर्घटना भएको थियो । उनको सोही दिनको राती करिव १ वजे निधन भएको हो ।

दुर्घटनामा उनको मेरुदण्ड भाचिएको थियो भने टाउकोको पछाडीको भागमा गम्भिर चोट लागेको थियो । दुर्घटनापछि उनलाई अलमाना अस्पतालमा लगिएको भएपनि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको साउदीमै कार्यरत धरानका पूर्ण खड्काले जानकारी दिए ।

धरान १५ बाझोगराका स्थायी बासिन्दा ४८ वर्षिय तामांग यातायात मजदुर हुन् धरान काकडभिट्टा रुटमा लामो समय चालक मजदुरी गरेका उनी अनुभवि चालक हुन् । साउदीमा भने उनले क्रेन अपरेटरका रुपमा काम गरिरहेका थिए । साउदीको रियादमा प्रधान कार्यालय रहेको अल अरिध कम्पनीको जुवेईल शाखामा रहेरे उनले काम गरिरहेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका सदस्य तामांग २०६४ साल कार्तिकदेखि बैदेशिक रोजगारीमा रहेका तामाङ पछिल्लो पटक असारमा नेपाल आएर पुन फर्किएका थिए । उनको १७ वर्षिया एक छोरी छिन् ।