
हात्तीपाइले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले फेरि अभियान चलाउने भएको छ ।
बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तीपाइलेको संक्रमण देखिएपछि कार्यालयले जिल्लाभरिका नागरिकलाइ औषधि खुवाउने तयारी गरेको हो ।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुन १ प्रतिशतमा आइपुग्नुपर्छ तर नारायणस्थानमा केही वर्षअघि ३ प्रतिशत रहेकामा घटेर २ दशमलब ३ प्रतिशत पुगेको थियो ।
गत वर्षदेखि फेरि बढेर झण्डै ५ प्रतिशतमा उक्लेपछि औषधि खुवाउने काम गर्नुपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
नेपालका ६३ वटा जिल्ला जोखिमको भेटिएकाले २ करोड ५० लाख नागरिकलाई औषधि खुवाउनुपर्ने अवस्था भएको हो । माघ २५ गतेदेखि अभियान सञ्चालन गरिने तयारी गरिएको कार्यालयका हात्तीपाइले रोगसम्बन्धी फोकल पर्सन यम बरालले बताए ।
विश्वका केही देशमा निवारण भएपछि धेरैजसो देशमा अझै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । त्यसैले विश्वका ७१ मुलुकमध्ये ५० देशमा यो औषधि खुवाउने काम भइरहेको छ ।
लामखुट्टेले सक्रमितलाई टोकेपछि सार्ने भएकाले जोसुकै मानिस संक्रमणको जोखिममा रहन्छन् । तत्काल लक्षण नदेखिने भएकाले लामो समयपछि मात्र थाहा हुन्छ । हात, खुट्टा सुनिने, शरीरका जुनसुकै स्थानमा संक्रमण देखिने, अण्डकोशहरू सुनिएर हाइड्रोसिल हुने जस्ता समस्या यो रोगमा हुने गर्छ । औषधि खाएपछि कम्तीमा १ वर्षका लागि सर्ने समस्या नहुने भएकाले निवारणको अवस्थामा लैजान पहल गरिएको बरालले बताए ।
कार्यालयले अभियानको सफलताका लागि सञ्चारमाध्यम र पत्रकारको सहकार्य पनि बढाएको छ । यो अभियानमा साथ दिन सबैलाई आग्रह गरिएको छ । औषधि खुवाउने काममा कार्यालयले स्वास्थ्यकर्मी नै खटाउने छ । पहिलो दिनमा तोकिएका खोप केन्द्रमा र दोस्रो दिनदेखि खोजी गरेर सबै नागरिकलाई औषधि खुवाउने कार्यक्रम राखिएको छ ।