सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबीच आगामी ३१ वैशाखको निर्वाचनका लागि काठमाण्डु महानगरपालिकामा भएको चुनावी तालमेल टुटेको छ । ओवादी केन्द्र काठमाण्डुले दुई पार्टीबीच केन्द्रमा भएको सहमति अस्वीकार गरेपछि तालमेल घोषणा भएको केही दिनमै टुटेको हो । दुई प्रमुख सत्तारुढ घटकबीच प्रमुख प्रतिपक्षी एमालेलाई ‘साइजमा ल्याउने’ भन्दै काठमाण्डुसहित चारवटै महनगरपालिकामा तालमेल सहमति भएको थियो । तर, माओवादी केन्द्र काठमाण्डुका अध्यक्षलेखनाथ न्यौपानेले काठमाण्डु महानगरमा काँग्रेस र माओवादीबीच तालमेल नभएको दाबी गरे ।
उनले भरतपुर र कास्कीको लेखनाथ महानगरपालिकामा मात्र तालमेल भएको बताए । ‘चितवन र लेखनाथमा तालमेल भएको हो’, न्यौपानेले भने, ‘काठमाण्डु र ललितपुर महानगरपालिकामा काँग्रेससँग तालमेल भएको भन्ने कुरा सही होइन ।’ न्यौपानेले ती दवै महानगरमा माओवादी केन्द्रका मेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको बरु चुनावी प्रचार–प्रसार जारी रहेको बताए ।
यो हो तालमेल टुट्नुको कारण
न्यौपानेले काँग्रेसले ललितपुर आफूहरुलाई छाड्न नमानेका कारण तालमेल हुन नसकेको उल्लेख गरे । चार वटा महानगरमध्ये दुई÷दुईवटा बाँडेर लिने सहमति काँग्रेसले तोडेको आरोप उनले लगाए । ‘एउटा चितवन जिताउन बाँकी तीनवटै महानगर काँग्रेसलाई छाड्न सकिँदैन’, न्यौपानेले भने, ‘एकले अर्काको अस्तित्व स्वीकार गरेको अवस्थामा मात्र तालमेल हुने हो, काँग्रेसलाई जिताउन हामीले भोट दिनुपर्ने, तर उसले हामीलाई केही दिनुनपर्ने सहमति केको सहमति ?’ उनले तीनवटै महानगरपालिका काँग्रेसलाई दिँदा निर्वाचनको भोलिपल्टबाट पार्टी चलाउने कि नचलाउने ? भन्ने प्रश्न पनि नेतृत्वतिर तेस्र्याए । यद्यपि काँग्रेसले ललितपुर छाड्न तयार भए अझै पूर्वसहमतिअनुसार उपत्यकामा तालमेलको सम्भावना कायमै रहेको न्यौपानेको भनाइ थियो ।
‘दुवै पक्षले राजनीतिक हिसाबले फाइदा लिन र सुरक्षित हुनका लागि तनलमेल गर्ने हो’, न्यौपानेले भने, ‘एक पक्षले मात्र मलाई जिताउन सहयोग गर्नुपर्छ र अरुको कुरा थाहा छैन भन्छ भने तालमेलको कुनै अर्थ रहँदैन ।’ चारवटै महानगरमा प्याकेज सहमति गर्न काँग्रेस राजी भए आफूहरु तालमेलका लागि तयार रहेको उनले स्पष्ट गरे । अन्यथा माओवादी केन्द्र एक्लै चुनावको सामना गर्न तयार हरेको उल्लेख गरे । काँग्रेसले आफूहरुको राजनीतिक अस्तित्व स्वीकार गर्न तयार नभएको न्यौपानेले बताए । ‘अझै समय गुज्रिएको छैन, तर काठमाण्डु पनि ललितपुर पनि दिएर हामीले रुखमा भोट हाल्ने कुरा सम्भव छैन’, न्यौपानेले भने ।



