काठमाडाैं/ चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ । एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी १५ फेब्रुअरी (३ फागुन)मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ । चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । ‘३ फागुनमा चीन जान तयार रहनू भनेर पर्यटन मन्त्रालयबाट निर्देशन आएको छ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘वुहानबाट ल्याउने एक सय ८० नेपालीको सूची निगमलाई आइसकेको छ ।’ तीन क्याप्टेन र तीन पाइलटसहितको क्रु टोलीसहितको जहाज चीन जानेछ । जहाजमा सेना र नेपाल प्रहरीका दुई चिकित्सक, दुई नर्ससहितको स्वास्थ्यकर्मीको टोली हुनेछ । उनीहरूको नाम गोप्य राखिएको छ । ‘क्रु तथा डाक्टर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तय गरेको पोसाक लगाएर त्यसतर्फ जानेछन्,’ प्रवक्ता खड्काले भनिन् ।

जहाज फर्किसकेपछि भने ४८ घन्टा ग्राउन्डेड गरिनेछ । ‘विश्वभरि नै यस्ता चार्टर फ्लाइट भइसकेपछि जहाजमा सिकिङ चेक गरेर ४८ घन्टा ग्राउन्डेड गरिन्छ,’ खड्काले भनिन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनस्थित नेपाली दूतावासले उद्धारका लागि आवश्यक तयारी गर्न ७२ घन्टाको समय मागेको छ । चीन सरकारसँग समन्वय गरेर प्रक्रिया पूरा गर्न र उद्धार गरेर नेपाल ल्याएपछि राख्ने ठाउँ व्यवस्थापन गर्न केही समय लाग्ने भएपछि ३ फागुनको मिति निश्चित गरिएको ती मन्त्रीले बताए ।

मन्त्रिपरिषद्को निर्देशनलगत्तै सोमबार साँझ परराष्ट्र, रक्षा, पर्यटन र स्वास्थ्य मन्त्रालयको संयुक्त तयारी बैठक बसेको थियो । चीनबाट नेपाली विद्यार्थी उद्धारका सम्बन्धमा जिम्मेवारी बाँडफाँड र समन्वय गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझाको संयोजकत्वमा उद्धारका गर्न जहाजमा चीनसम्म जाने र चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ प्रयोगबारे तालिम दिइएको छ ।

चीनबाट एक सय ८० नेपालीलाई स्वदेश फिर्ता गरेपछि दुई हप्ता क्वारेन्टाइनमा राखिनेछ । कोरोना भाइरसले फोक्सोलाई आक्रमण गर्छ, जुन तीव्र गतिमा फैलिन्छ । चिकित्सकका अनुसार क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिसँग सम्पर्क हुन नदिने गरी व्यवस्था मिलाइन्छ । सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार संक्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिलाई नियमित अनुगमन गरेर कोरोनाको लक्षण भए–नभएको निधो गरिन्छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय