पाकिस्तानको कराँचीमा आसिफ राफिक सिद्दीकी नामक पुरुषले गुपचुप रूपमा तेस्रो विवाह गर्दै गर्दा पहिलो पत्नी अचानक आइपुगिन् ।

त्यसपछि आसिफलाई मानिसहरूले रामधुलाइ गरे । आक्रोशित भीडले उनको शर्ट र प्यान्ट च्यातिदियो । उनी बल्लबल्ल ज्यान जोगाएर भाग्न सफल भए ।

पाकिस्तानमा बहुविवाह वैध छ । एक पुरुषले चार महिलासँग विवाह गर्न सक्छ तर दोस्रो बिहे गर्नुअघि अघिल्ला पत्नीहरूसँग सहमति लिनुपर्छ । आसिफले त्यसो गरेका थिएनन् ।

पहिलो पत्नी मदिहा विवाह समारोहमा पुगिन् र आसिफलाई गाली गर्न थालिन् । त्यसपछि दुलही पक्षले उनलाई के भयो भनी सोध्यो । अनि उनले आसिफ आफ्नो पति भएको बताइन् ।

मदिहाले नयाँ दुलहीलाई भनिन्, ‘यो मेरो पति हो भन्ने तिमीलाई थाहा थिएन ? यसले आफ्नो छोराको पनि विचार गरेन । मेरो विवाह सन् २०१६ मा भएको हो । कराँची ऊर्दू विश्वविद्यालयमा भेटघाटपछि विवाह भएको थियो ।’

आसिफले सन् २०१८ मा पनि गुपचुप विवाह गरेको मदिहाले बताइन् । दोस्रो विवाह जिन्ना महिला विश्वविद्यालयकी प्राध्यापिका जहरा अशरफसँग भएको थियो ।

जहरालाई पनि आसिफको तेस्रो विवाहका बारेमा आफूले बताएको मदिहाले बताइन् ।

मदिहाले यो सब कुरा भनिरहँदा आसिफ चुपचाप सुनेर बसिरहे ।

त्यसपछि नयाँ दुलहीका नातेदारले आसिफलाई बेस्सरी ठटाए । अनि प्रहरीलाई पनि बोलाए ।

तैमुरिहा प्रहरी कार्यालय प्रमुख राव नाजिमले यस विषयमा कुनै एफआईआर दर्ता नगरिएको बताए । यो पारिवारिक मामिला भएकाले यसलाई फेमिली कोर्टले हेर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय