कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक परे देशभरका होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने सरकारको तयारी छ । होटेललाई अस्थायी अस्पतालका रूपमा प्रयोग गर्न होटेल संघ नेपाल (हान)लाई अनौपचारिक रूपमा सरकारले प्रस्तावसमेत गरिसकेको छ । हानले पनि सरकारलाई जनताको स्वास्थ्यका लागि सहयोग गर्न तयार रहेको जवाफ दिएको छ । तत्कालै प्रयोग गर्नेभन्दा पनि समस्या आउँदा गर्न सकिन्छ–सकिँदैन ।
अनौपचारिक छलफल गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । सरकारले अहिले पहिलो चरणअन्तर्गत तयारीको काम गरिरहेको छ । दोस्रो चरण संक्रमण फैलिएपछि गरिने काम हो । कोरोना फैलिएर तेस्रो चरण अर्थात् भयावहको अवस्थामा होटेल प्रयोग गर्ने गरी छलफल गरिएको उनले बताए । यसैबीच होटेल संघ नेपालको क्षेत्रीय संघ भैरहवाले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने निर्णय नै गरिसकेको छ ।
्सिरद्धार्थ होटेल संघ (सान)ले संस्थागत निर्णय गरेर जस्तोसुकै सहयोग गर्न तयार भएको जनाएको हो । हानका अनुसार पर्यटकस्तरका होटेलमा दैनिक ६५ सय मानिसलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । ‘हामीसँग दैनिक ६ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ, सोही कोठाहरू प्रयोगमा ल्याउन सकिन्छ,’ उपाध्यक्ष शाहले भने ।
अहिले पाँच तारे होटेल मात्रै १२ वटा पुगिसकेका छन् । ‘अहिले होटेलको अकुपेन्सी भनेको १० प्रतिशत हो, त्यो पनि घट्दो क्रममा रहेको छ,’ शाहले भने । होटेल नै खाली भए पनि राज्यलाई अप्ठ्यारो पर्दा सहयोग नगर्ने कुरै नहुने शाहले बताए ।
कोरोनाका कारण होटेल व्यवसायीहरूले दैनिक २ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको व्यवसायीहरूले जनाएका छन् । होटेलको अकुपेन्सी ४० प्रतिशतभन्दा कम भएमा घाटा हुने शाहको भनाइ छ । नया पत्रिका दैनिकमा यो खबर छ



