काठमाडौं, १४ चैत । कोरोना भाइरस महामारीका कारण नेपालसँगै थुप्रै देश लकडाउन भइसकेका छन् । एक हप्ताको लकडाउनपछि पनि अवस्था सामान्यतर्फ फर्किने संकेत छैन ।

यदि संक्रमितको संख्या बढ्यो भने, वा हालको अवस्था नियन्त्रणमा आएन भने लकडाउनलाई नै लम्बाउने सरकारको तयारी भइरहेको छ ।

यदि लकडाउनको अवधि थप लम्बियो भने घरभित्रै वा बन्द कोठाभित्रै कसरी समय कटाउने त्यसबारे धेरैलाई चिन्ता लागेको हुनुपर्छ । यदी तपाईँ कोठाभित्र हुनुहुन्छ भने शारीरिक अभ्यास गर्न चाहिँ बिर्सनु हुँदैन ।

शारीरिक अभ्यासले तपाईलाई स्वस्थ राख्नुका साथै होम क्वारेन्टाइनको अवधि कटाउन सहयोग मिल्छ । विश्व स्वास्थ्य संगठनले समेत शारीरिक अभ्यासको महत्वमा जोड दिएको छ । क्वारेन्टाइन जस्तो सीमित अवस्थामा रहँदा सक्रिय बन्नु तपाईँको शरीर र मस्तिष्कका लागि लाभदायी छ ।

सुतिरहनु वा बसिरहनु भन्दा शारीरिक अभ्यास धेरै नै उपयुक्त हुनेछ । विश्व स्वास्थ्य संगठनले एक वयष्क मानिसले हरेक दिन ३० मिनेट शारीरिक व्यायाम वा गतिविधि गर्नु उपयुक्त हुने सल्लाह दिएको छ । साथै बालबालिकाको लागि एक घण्टा । कोरोना महामारीका बेला धेरैले घरभित्रै बसेर काम गरिरहेको अवस्था पनि होला । तर डब्लुएचओले केही बस्ने वा अभ्यास गर्ने केही तरिका सुझाएको छ ।

अनलाइन एक्सरसाइज क्लास
शारीरिक अभ्यास गर्ने तरिका बारे भिडिओहरु तपाईले सजिलै इन्टरनेटमा भेट्न सक्नुहुन्छ । उच्च कसरतका लागि ३० मिनेट चाहिन्छ । फिटनेसको लागि नियमित तालिका बनाउनु सक्रिय रहने उपयुक्त उपाय हो ।

फिटनेस विज्ञहरुले पनि दैनिक रुपमा शारीरिक अभ्यास गरेका भिडिओ सार्वजनिक गरिरहेका हुन्छन् । त्यस्ता भिडिओले तपाईँलाई उत्प्रेरित गर्नसक्छ ।

नाचगान

नाच्नु आफैमा रमाइलो त हुँदै हो । एक शारीरिक अभ्यास पनि हो । तपाईले यस्तो अवस्थामा मनपर्ने संगीतमा नाच्न सक्नुहुन्छ । जसले शरिरको बोसो घटाउनुका साथै रमाइलो पनि हुन्छ ।

भिडिओ गेम

भिडिओ गेम खेल्नाले पनि तपाईको शारीरिक अभ्यासको तालिकालाई सघाउँछ । शारीरिक अभ्यासयुक्त भिडिओ गेम खेल्दा पनि सक्रिय रहन सकिन्छ ।

स्किपिङ रोप

स्किपिङ रोप सामान्य किसिमको शारीरिक अभ्यास हो । हेर्दा यो सामान्य लागे पनि यसले शरिर र मस्तिष्कलाई सक्रिय राख्ने काम गर्छ । साथै यसका लागि अत्याधिक शारिरीक बल प्रयोग भने हुँदैन । एक खेल जस्तो तरिकाले खेल्न सकिन्छ । यसलाई पनि नियमित तालिका बनाएर खेल्दा शरिर र मस्तिष्क तन्दुरुस्त बन्छ ।

मसल बलियो बनाउनु

घरमा सामान्य उपकरण छन् भने पनि तपाई मांशपेशी बलियो बनाउने किसिमका शारीरिक व्यायाम गर्न सक्नुहुन्छ । मसल बढाउने तालिम नै अनलाइनमार्फत लिन सक्नुहुन्छ ।

लकडाउनको अवधिभर तपाई खास तालिका नै बनाउन सक्नुहुन्छ । जसअनुसार शारीरिक व्यायाम र अन्य अभ्यास नियमित गरेरै एक सातासम्म वा दुई सातासम्म हरेक बिहान, साँझ कसरी व्यायाम गर्ने भन्ने आफैँ तय गर्न सकिन्छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय