काठमाण्डौ – तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ र कोरोनाका कारण भिसाको म्याद थप्न, आइडीकार्ड नवीकरण गर्न, करार सकिएपछि पनि नेपाल फर्कन नपाएर अप्ठेरोमा पर्नु भएको छ ? कोरोनाका कारण कम्पनीमा काम बन्द भएर घरमै बस्नु परेको छ अथवा कागजात बिहीन हुनुहुन्छ ? यस्तो समस्यामा हुनुहुन्छ भने नआत्तिनुहोस् ।

किनकी यो समस्या संसारभरि फैलिएको कोरोना भाइरसका कारणले भएको हो । तपाईँले काम गर्ने कम्पनी, विमान कम्पनी, सरकार र दूतावासहरुले तपाईँ जस्ता अप्ठेरोमा परेका कामदारका लागि सहयोग गर्ने प्रयास गरिरहेका छन् ।

विदेशमा कामबिहीन भएका र खान बस्न समस्या भएका श्रमिकलाई खाने बस्ने व्यवस्था मिलाउन नेपाल सरकारले नेपाली दूतावासलाई निर्देशन दिईसकेको छ । तलका जानकारीहरु लिनुहोस् र यहाँ नभएको समस्या आई परे जानकारी, सल्लाह र सहयोग लिन नेपाली दूतावासहरुमा सम्पर्क गर्नुहोस् ।

कतारमा रहेको नेपाली दूतावासको सल्लाह
– नेपाल फर्कने टिकट काट्नुभएको छ, तर सरकारले यात्रामा रोक लगाएको कारण देश फर्कन पाउनुभएन भने एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुहोस् । आफ्नो समस्या बताउनोस् । अहिले धेरै एअरलाइन्स कम्पनीले बिना शुल्क यात्रा मिति सारिदिन्छन् ।

– कतारको भिसा वा कतारको आईडीको म्याद सकिएको छ भने सबैभन्दा पहिला आफ्नो कम्पनी, रोजगारदातासँग समन्वय गरी नवीकरण गर्नुहोस् ।

– भिजिट भिसामा कतार जानुभएको छ भने आफन्त वा स्पोन्सरमार्फत कतारको अध्यागमन कार्यालयमा सम्पर्क गरी अवधि बढाउने प्रकृया सुरु गर्नुहोस् ।

– छुट्टीमा घर आएको बेला कतारको भिसाको म्याद सकिएर काममा फर्कन नपाए पनि चिन्ता नगर्नुहोस् । आफूलाई परेको समस्या कतारमा रहेको आफ्नो रोजगारदातालाई जानकरी दिनुहोस् । थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्नुहोस् वा बेलाबेलामा वेबसाइटमा आउने जानकारी हेर्ने गर्नुहोस् ।

– छुट्टीमा घर आएको बेला कतारको भिसाको म्याद सकिएर काममा फर्कन नपाए पछि फर्कन पाईन्छ । यात्रामा रोक लगाएको बेला आईडीको म्याद सकिएकाहरुको लागि स्थिति सामान्य भएपछि कतार सरकारले कुनै न कुनै व्यवस्था गर्ने कुरामा विश्वास गर्नुहोस् ।

– पटक पटक सामान किन्न निस्कंदा दुःख पाइने संभावना बढी हुन्छ । त्यसैले आफूलाई चाहिने सामान लिस्ट बनाएर एकैपल्ट किन्न बाहिर निस्कनु होस् ।

कुवेतमा रहेको नेपाली दूतावासको सल्लाह
– बिदामा घर आएका बेला उडान बन्द भयो । काममा फर्कन नपाउँदै भिसा सकिन लागेको छ भने आफ्नो रोजगारदातालाई खबर गर्नुहोस् ।

– तपाईँको उपस्थिति नभए पनि रोजगारदाताले कुवेतको भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

– भिसा नवीकरणका लागि रोजगारदाता कम्पनीले www.moi.gov.kw मा गई युजर नेम बनाई कुवेतको आवासीय भिसा नवीकरण गरिदिनेछन् । बरु यो जानकारी तपाईँ आफैं रोजगारदातालाई दिनुहोस् ।

– तपाईँ कुवेतमै हुनुहुन्छ र भिसा सकिन लागेको छ । तर कोरोना भाइरसका कारण नवीकरण भएको छैन भने आफ्नो रोजगारदातालाई भन्नुुहोस् । रोजगारदाता कम्पनी वा व्यवस्थापकले www.moi.gov.kw मा युजरनेम बनाई अनलाइनबाटै भिसा नवीकरण गरिदिनेछन् ।

– काम गर्ने भिसा – १८ र घरेलु श्रमिक भिसा– २० दुवै खालको भिसा यही प्रक्रियामार्फत नवीकरण गर्न सकिन्छ ।

– अहिले कुवेत सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि कर्फ्यु लगाएको छ । यस्तो बेला बाहिर नहिँड्नुहोस् । कुवेत सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् र कम्पनीको नियम पनि पालना गर्नुहोस् ।

साउदी अरेबियामा रहेको नेपाली दूतावासको सल्लाह
– साउदी अरेवियाले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रि इन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सिल गरी लाग्नसक्ने जारिबानाबाट बच्न अनुरोध गरेको छ ।

– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

– साउदीमा अहिले केही सहरमा रात्रीकालीन र रियाद, मक्का र मदिनामा स्थानीय समयअनुसार दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लागिरहेको छ । सबैभन्दा पहिला कर्फ्युको पालना गर्नुहोस् ।

– कोरोनाको जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउनुहोस् ।

यूएईमा रहेको नेपाली दूतावासको सल्लाह
– यूएईमा उडान रद्द भएका कारण भिसा अवधि सकिएकाको हकमा भिसा तथा श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ ।

– छुट्टीमा नेपाल आएर हवाइ उडान रोकिएका कारण यूएई फर्कन पाउनुभएको छैन भने युएइको अवस्था सामान्य नहुञ्जेल नेपालमै सुरक्षित र ढुक्क भएर बस्नुहोस् । आफ्नो अवस्था र परिस्थितिबारे रोजगारदाता कम्पनीलाई जानकारी गराउनुहोस् ।

– पर्यटक भिसामा घुम्न यूएई जानुभएको थियो, भिसा पनि सकिन लागेको बेला यात्रा प्रतिबन्धले उतै रोकिन पर्‍यो भने पनि नआत्तिनुहोस् । यूएईले पर्यटक भिसामा यूएईमा गएका र फिर्न नपाएका विदेशी नागरिकलाई समय थप गरिदिने भएको छ ।

– यस्ता समस्या छन् र दूतावासको सहयोग चाहिएको छ भने यूएईमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । कोरोनाका कारण उत्पन्न परिस्थितीले समस्यामा परेको भए आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर सहयोग लिनुहोस् ।

ओमानमा रहेको नेपाली दूतावासको सल्लाह
– ओमानमा पनि भिसा, आइडी वा करार अवधि सकिन लागेको छ भने ओमानमा रहेको नेपाली दूतावासका द्वितीय सचिव सुमेश थापालाई ७१५३०८४० मा सम्पर्क गर्नुहोस् ।

– यस्तै कोरोनाका कारण कुनै समस्या उत्पन्न भएमा दूतावासको हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन सकिन्छ ।

कोरोनाको शंका लागेमा ओमानको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर २४४४१९९ मा सम्पर्क गर्न सकिन्छ ।

बहराइनमा रहेको नेपाली दूतावासको सल्लाह
– घर फर्कन टिकट काटिसक्नु भएको थियो, तर कोरोनाका कारण उडान रद्द हुँदा घर फर्कन पाउनुभएन र त्यहीँ अड्किनु परेको छ भने दूतावासमा सम्पर्क गर्नुहोस्। बहराइनमा रहेको नेपाली दूतावासले नै यस्ता समस्या समाधान गर्न सहयोग गर्छ ।

– ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस् । आफ्नो स्वास्थ्यसँग सम्झौता नगर्नुहोस् ।

– जस्तोसुकै समस्या परे पनि बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गरेर आफ्नो समस्या जानकारी गराउनोस् ।

– रोजगारदाता कम्पनी र बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । कोरोनाको जोखिमबाट बच्नुहोस् ।

मलेसियामा रहेको नेपाली दूतावासको सल्लाह
– नेपाल फिर्ता हुने टिकट थियो, तर क्यान्सल भयो अनि भिसा पनि सकिंदै छ भने सबैभन्दा पहिला कम्पनीलाई जानकारी गराउनुहोस् ।

– भिसा सम्बन्धी समस्या समाधानका लागि मलेसियाको अध्यागमन विभागमा सम्पर्क गर्नुहोस् ।

– घर बिदामा नेपाल आउनुभएको छ तर कोरोनाका कारण तोकिएको समयमै फर्कन पाउनुभएको छैन भने रोजगारदातालाई सो कुराको स्पष्ट जानकारी दिनुुहोस् । अवस्था सामान्य नहुँदासम्म सुरक्षित भएर कोरोनाबाट जोगिन घरमै बस्नुहोस् ।

– कुनै समस्या परेमा अथवा थप जानकारी र सहयोगका चाहिएमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्नुहोस् । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर