चुनावको बेलामा आर्थिक चलखेल हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले मुस्ताङले शुक्रबार विहान हेलिकप्टरको खानतलासी गरेको छ । चुनाव नजिकिँदै गर्दा आर्थिक चलखेल हुन थालेको जनगुनासो बढेपछि खानतलासी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताउनुभयो ।

नाइन एएलएस हेलिकप्टरमा शुक्रबार बिहान ७ः४५ बजे मुस्ताङ आएका तारा एयरका संचालक आङछिरिङ शेर्पा र मुस्ताङका स्थानीय उत्तम गुरुङ सहितको टोली जोमसोम एयरपोर्टमा उत्रिएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा चेकजाँच गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चेकजाँचको क्रममा एयरपोर्टमा पुगेका नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले चुनावको पेरीफेरीमा शंकास्पद रुपमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्दा आर्थिक चलखेल हुने भन्दै यस्ता गतिविधिलाई तत्काल बन्द गरी जनतालाई स्वतन्त्ररुपमा मतदान गर्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।

शेर्पा हिजो बैशाख २८ गते मुस्ताङको कोवाङस्थित नाउरीकोटको थासाङ भिलेजमा हेलिकप्टर चार्टर गरी आउनुभएको थियो । उहाँ विहिबार थासाङ भिलेजको ल्याण्डरोभर गाडी चढी लेते कालीपानी स्थित वाणीज्य मन्त्री रोमी गौचन थकालीको घरमा गई मन्त्रीसँग भेटघाट गरी फर्किनुभएको स्थानीय प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।