बिष्णुप्रसाद पोखरेल
दमक । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा स्थानीय तहमा उम्मेदवार बन्नका लागि पार्टी प्रवेस र टिकटको दाबेदारी पनि बढ्दै गएको छ । बिभिन्न पेशा र ब्यवसायका ब्याक्तिहरुपनि उम्मेदवार बन्नका लागि तछाडमछाडमा रहेकाछन् । शिक्षकहरुले राजनीतिमा आउन धमाधम राजीनामा दिइरहेकाबेला एकजना सन्त महिला पनि उम्मेदवारको रुपमा देखा पर्नु भएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट एकजना धार्मिक माता तथा महिला योग गुरु पनि नगरप्रमुखको उम्मेदवार बन्नु भएको छ । राप्रपामा प्रवेस गरे लगत्तै उहाँ यहाँबाट नगरप्रमुखको उम्मेदवार बन्नु भएको हो । झापाका दमक नगरपालिका सहित बिभिन्न नगरपालिका र गाँउपालिकाका नगरप्रमुख र गाँउप्रमुखको घोषणा कार्यक्रममा उहाँको उम्मेदवारीले पनि यस कार्यक्रममा चर्चा पाएको थियो ।
झापाको दमकमा तीनसाता अघि भएको राप्रपाको जनसभामा राप्रपाका अध्यक्ष तथा उपप्रधान एवं स्थानीय बिकास मन्त्री कमल थापाबाट पार्टीको टिकट लिनु भएकी महिला पतञ्जली योग समिति राष्ट्रिय अध्यक्ष, जुना अखडा नेपाल संगठनकी केन्द्रिय अध्यक्ष अनन्त श्री बिभूषित महामण्लेश्वर स्वामी हेमानन्द गिरि जी महाराज भनेर चिनिने हेमा ढुङ्गानाले दमकको आमसभामा नै आफू नगरप्रमुखको उम्मेदवार रहेको घोषणा गर्नु भएको थियो ।
साधुको भेषमा रहेर ढुङ्गानाले कार्यक्रमलाइ सम्बोधन गरेपछि आफू पनि नगरप्रमुखमा परिवर्तनका लागि उठेको बताउनु भएको थियो । नेबि संघकी पूर्व केन्द्रिय सदस्य रहनु भएकी ढुङ्गाना प्रखर धार्मिक बक्ताको रुपमा चिनिदै आउनु भएको थियो । ढुङ्गानाले आफ्नो जित निश्चित भएको बताउदै धार्मिक अधिकारको संरक्षण र गौमाता माथिको प्रहार रोक्नका लागि सधै प्रतिबद्ध रहेको बताउनु भयो ।
धार्मिक चेतना सहि शाषन र शुशासनका लागि जरुरी रहेकाले त्यो स्थापित गराउन आफू राजनीतिमा यसरी आएको उहाँको भनाइ रहेको थियो । आफू महिला पनि भएको र धार्मिक तथा राजनीतिक चेतना पनि भएकाले नगरप्रमुखमा अब्बल हुन सक्ने ठानेर नै उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।
पार्टी प्रवेस गराउदै पार्टी अध्यक्ष थापाले यो पार्टीका लागि गौरव र सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको भन्दै ढुङ्गानालाइ अघि बढ्नलाइ हौसला प्रदान गर्नु भएको थियो । थापाले कार्यक्रममा ‘माता’भनेर सम्बोधन गर्दै आफू पहिलो भेट र राखेको भनाइबाट प्रभावित भएको भन्दै त्यहाँका जनताले आफू बिश्वस्थ रहेको थापाले सो अवसरमा जनाउनु भएको थियो । ढुङ्गाना अहिले आफ्नो क्षेत्रमा चुनावी दौडमा रहनु भएको छ ।



