
रुसको राजधानी मस्कोमा रहेको एक अग्लो भवनको १५ तल्लाको झ्यालमा सेल्फी लिने क्रममा एक व्यक्ति चिप्लेर झुण्डिएका छन् । उनलाई प्रहरीले लकडाउन नियम उल्लंघन गरेको भन्दै ६७ सय रुपैयाँको जरिवाना तिराएको छ ।
घटनाको भिडियो दुई महिलाले खिचेका हुन् । उनीहरूले एन्टोन कोजलोभ नामक ती व्यक्तिलाई झ्यालबाट खसेको १५ मिनेटसम्म समातेर राखेका थिए ।
भुइँबाट १५० फीटमाथि झुण्डिएका ती व्यक्तिले किनारा समातेका थिए भने दुई महिलाले उनको हात र पाखुरा समातेका थिए ।
मलाई उद्धार गर भनेर ती व्यक्ति रोएका समेत थिए । पछि ट्राफिक प्रहरीका गश्ती अधिकारीले उनको समस्या देखेपछि दौडिँदै भवनमा पसी उनलाई भित्र तानेका थिए ।
कोजलोभले कोरोनाभाइरस आइसोलेसन नियम तोड्दै पत्नीसँग एक साथीको घरमा गई आल्कोहोलिक क्वारेन्टीन पार्टी गरेको पाइएपछि जरिवाना लगाइएको थियो ।



