
भारतको एक जंगलमा अत्यन्तै दुर्लभ दुईटाउके सर्प फेला परेको छ । यो सर्प केही दिनअघि मात्र जन्मेको हो । यस्तो सर्पलाई वुल्फ स्नेक भनिन्छ र यो विषालु हुँदैन ।
सर्पको भिडियो फूटेज हेर्दा दुईवटा टाउकाका कारण त्यसलाई भुइँमा घस्रिन गाह्रो परेको देखिन्छ । एउटा टाउको एकातिर जान खोज्दा अर्कोले अर्कैतिर लग्न खोज्छ । उडिसाको कीओनझार वन्यजन्तु आरक्षमा यो सर्प राकेश मोहालिकले फेला पारेका हुन् ।
सर्पको परीक्षण गरेका विज्ञहरूले यो १४ सेन्टिमिटर लामो रहेको र उसका दुवै टाउको पूर्ण विकसित रहेको बताए । उसका चारवटा आँखा र दुईवटा जिभ्रा छन् ।
दुवै टाउको स्वतन्त्र निर्णय लिन्छन् त्यसैले यस्ता प्राणीलाई जंगलमा बाँच्न गाह्रो पर्छ ।
वन्यजन्तुका विषयमा उत्साही फोटोग्राफर राकेशले यो सर्प आफैंले आफैंसँग प्रतिस्पर्धा गर्ने बताए ।
‘दुईमध्ये एक टाउको अलिक बढी विकसित छ र दुवैले खानेकुराका लागि संघर्ष गर्ने गरेका छन्,’ राकेशले भने । यो सर्पलाई फेरि जंगलमै लगेर छोडिएको छ ।



