
भारतको राजधानी नयाँ दिल्लीमा बैंक लुटेको खबर पाएपछि प्रहरी पुग्दा त्यो त बाँदरको काम पो रहेछ भनी थाहा पाएको छ ।
स्टेट बैंक अफ इन्डियाको एउटा एटीएम मशिन भित्तोबाट थुतिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । उक्त बैंकको शाखा राष्ट्रपति भवनबाट दश मिनेट हिँडेर पुगिन्छ ।
प्रहरीले पछि सीसीटीभी फूटेज हेर्दा यो चकचके बाँदरको काम रहेछ भनी थाहा पायो ।
भिडियोमा रातो बाँदर एटीएम मशिनमाथि उभिएर त्यसलाई तानिरहेको देखिन्छ ।
मशिन खुल्छ अनि बाँदर त्यसभित्रका कुराहरू खोतल्न थाल्छ ।
बाँदरले प्लास्टिकको एक टुक्रो तानेको र त्यसलाई सुँघेको देखिन्छ । त्यसपछि ऊ खुलेको बिर्कोमा धेरैपटक उफ्रिन्छ ।
पछि उसलाई झ्याउ लाग्छ र मशिनलाई भुइँमा बजारेर हिँडिदिन्छ ।
शीशाको ढोकाभित्र रहेको एटीएममा बाँदर कसरी पुग्यो र पछि कसरी भाग्यो भन्ने कुरा थाहा हुन सकेको छैन ।
नयाँ दिल्लीमा लगभग ५ हजार बाँदर रहेको विश्वास गरिन्छ । बाँदरहरूले त्यहाँ चकचक गरिरहेका हुन्छन् ।
उनीहरूलाई खानेकुरा चोरेको, बिजुलीको तार चुँडाइदिएको अनि बटुवामाथि आक्रमण गरेको अवस्थामा प्रायः फेला पार्ने गरिएको छ ।



