
लकडाउनमा बस्नु परेकाले यो बेला प्राय: सबैलाई निस्कनु त कहाँ जानु, घरभित्रै पनि कसरी समय बिताउनु भन्ने छटपटी छ। चिरपरिचित हाँस्य कलाकार, स्ट्यान्डप कमेडियन तथा ‘ह्वाट द फ्लप’ कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री यस्तै छटपटीमा छन्। उनी कसरी हुन्छ, घर बाहिर निस्कने दाउमा छन्। कहिले साथी भेट्ने, कहिले गितार सिक्ने त कहिले टाढा रहेका बुवालाई भेट्ने निहुँ। घरबाहिर निस्कन खोज्ने उनका हरेक बहाना असफल भएका छन्।
सन्दीपको विचलित पारा देखेर उनका दाइले गाली गर्छन्। काकाले आफैं गितार सिकाइदिने कुरा गर्छन्। अर्का काकाले अनलाइन लुडो खेलौं भन्छन्। दिदीले मीठा-मीठा परिकार बनाएर खुवाउँछिन्। यस्तै छटपटीले भरिएको सन्दीपको दैनिकी उनको वास्तविक जीवनको कथा भने होइन। यो उनले लकडाउनकै समय सदुपयोग गर्दै बनाएको सन्देशमूलक छोटो फिल्म ‘लकडाउन’को कथा हो।
भिडियोः
कथामा घरका सबभन्दा कान्छा उनी ‘छुकछुके’ छन्। हामीले मनोरञ्जन क्षेत्रमा देख्दै आएका सन्दीपजस्तै। घरबाहिर निस्केर रमाउन खोज्ने उनी बहिर्मुखी पात्रका रूपमा देखिन्छन्। उनको चरित्रले यो लामो लकडाउनमा घरमै थन्किनु पर्दा विरक्त मानिसको भावना प्रतिनिधित्व गरेको छ।
उनीसँगै पर्दामा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा र गायक सञ्जय श्रेष्ठलाई पनि देख्न सक्छौं। कथाअनुसार यी सबै पात्र एकै छतमुनिका परिवार हुन्। फिल्ममा सन्दीपका बुवाको भूमिका निर्वाह गरेका मदनकृष्ण मात्रै केही पर छन्। फिल्म सुटिङ सबैले आ-आफ्नै घरबाट गरेका हुन्। लकडाउनको पालना गर्दै बनाइएको यो फिल्मको खास विशेषता यही हो।
झन्डै १० मिनेट लामो यो फिल्ममा लकडाउनको समय कसरी बिताउने? कलाकारहरूले कसरी बिताइरहेका होलान्? यस्तो समयमा के गर्नु उचित र के गर्नु अनुचित? कोरोना भाइरसबाट बच्न के कस्ता उपाय अपनाउनु जरुरी छ? लगायतका अहिले जनमानसले बुझ्नै पर्ने केही प्रश्नको उत्तर पाउन सक्छौं।



