(पार्थ मण्डल) भद्रपुर / भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका नेपाली नागरिक नेपाल–भारत सीमावर्ती नाका धाउन थालेका छन्। भारतमा रेल सेवा सञ्चालन भएसँगै त्यहाँ अलपत्र परेका उनीहरू स्वदेश फर्कन सीमावर्ती नाका धाउन थालेका हुन्। रेल चढेर गन्तव्य पुग्न सजिलो भएसँगै सयौँको सङ्ख्यामा नेपाली नागरिक सीमा नजिकै आइपुगेका छन् ।

सीमा नजिकै आइपुगेका उनीहरू प्रहरीको आँखा छल्दै मौका छोपी स्वदेश फर्किने प्रयास गरिरहेका छन्। यसै क्रममा शुक्रबार बिहान ७ बजे दक्षिणी झापाको कचनकवल नाकाबाट नेपाल प्रवेश गर्न खोजेका ११ जना नेपाली युवालाई सुरक्षाकर्मीले सीमामै रोकेका छन्। कचनकवल ५ पाठमारीस्थित सीमा पिलर ११२ नजिकैबाट कचनकवल ६ बनियानी घर बताउने ११ जना नेपाली युवा झापा प्रवेश गर्न खोजेका सशस्त्र प्रहरी निरीक्षक नवराज नेपालले जानकारी दिए। उनीहरूमध्ये ५ जनालाई मेचीवारि र ६ जनालाई मेची खोलापारि सीमामा तैनाथ दुवै देशका सुरक्षाकर्मीले रोकेको हो।

सशस्त्र प्रहरी निरीक्षक नेपालका अनुसार उनीहरू मुम्बईबाट रेल चढेर बिहीबार किशनगञ्जसम्म आइपुगेका थिए। त्यहाँबाट उनीहरू ट्रकमा चढेर ठाकुरगञ्जसम्म आएका र त्यसपछि हिँडेर पाठामारी सीमासम्म आइपुगेका थिए। ‘उनीहरूमध्ये ५ जना मैकबारीबाट लुकेर छिर्न खोजेका थिए,’ सशस्त्र प्रहरी निरीक्षक नेपालले भने, ‘अरु ६ जनालाई बाँसे पुल तर्ने क्रममा रोकेका हौँ।’ उनीहरूको भनाइअनुसार अरू पनि नेपाली युवा भारतबाट रेल र ट्रक चढेर झापा आउने क्रममा छन्,’ उनले भने।’

खुला सीमा त्यसमाथि नाकामै मकैवारिका कारण सुरक्षाकर्मीकै आँखा छलेर लुकीछिपी युवाहरू नेपाल प्रवेश गर्न खोजेकोले समस्या भइरहेको भारतीय एसएसबी १९ बटालियनका सोनम गन्बोले जानकारी दिए। त्यसैले नेपालका सुरक्षाकर्मीसँगको सहकार्य र समन्वयमा सीमा गस्ती बढाएको उनको भनाइ छ । यता झापा प्रवेश गर्न खोजेका ११ जना सशस्त्र प्रहरीकै नियन्त्रणमा छन् । नेपाल सरकारले भारतबाट आउने नेपालीलाई आदेश नआउञ्जेल सीमा प्रवेश नगराउन भनेकाकाले उनीहरूलाई सशस्त्र प्रहरीकै नियन्त्रणमा राखिएको छ।

यता कचनकवल ६ नम्बर वडाध्यक्ष कुलबहादुर कार्कीले भारतबाट आएका युवाहरूलाई क्वारेनटाइनमा राख्नुपर्ने बताए। स्वदेश आइपुगेकाले उनीहरूलाई भारत पठाउनुभन्दा पनि क्वारेनटाइनमा राखेर स्वास्थ्य परीक्षण गर्नु पर्ने बताए। यस विषयमा स्थानीय तह र प्रहरी प्रशासनसँग समन्वय भइरहेको बताउँदै उनले भने, ‘क्वारेनटाइनमा राख्नु परे उनीहरूलाई पथरीयामा बनाइएको क्वारेनटाइनमा राखिन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय