
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा असहज महसुस भएको छ । उनले स्वास्थ्यका कारण आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । कोरोना संक्रमणबाट विश्वका विभिन्न मुलुकमा परेको प्रभावबारे जानकारी गराउँदै नेपाललाई कोरोनामुक्त बनाउने उद्देश्य प्रकाशमा पार्दै गर्दा प्रधानमन्त्री ओलीले स्वास्थ्यमा असहज महसुस गरेका हुन् ।
सम्बोधनकै क्रममा केहीबेर रोकिएर प्रधानमन्त्री ओलीले सभामुख समक्ष आफूलाई बसेर सम्बोधन गर्ने व्यवस्था उपलब्ध गराउन आग्रह गरे ।
‘सभामुख महोदय ! मलाई अलि यो स्वास्थ्यको कारणले उभिएर बोल्न गाह्रो भयो,’ प्रधानमन्त्री ओलीले भने ।लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइदिन संघीय संसदमा महासचिवलाई निर्देशन दिए ।
केहीबेर बैठक कक्षमा अलमल भयो । बस्ने व्यवस्था कसरी मिलाउने भन्नेबारे संसदका महासचिव र सभामुखबीच छलफल भयो । ‘तल (प्रधानमन्त्रीकै आसन) बाट सहज हुन्छ त ?’ सभामुख सापकोटाले प्रधानमन्त्रीलाई सोधे ।
जवाफमा प्रधानमन्त्री ओलीले रोष्टमबाट सबैलाई देखिने भएकाले रोष्टममै बसेर सम्बोधन गर्न पाए हुने आशय प्रकट गरे । त्यसपछि रोष्टममै प्रधानमन्त्री ओलीलाई अग्लो कुर्सीको व्यवस्था गरियो ।
प्रधानमन्त्री ओलीले अप्रेसनका कारण खुट्टामा अलि समस्या परेकाले लामो समय उभिन गाह्रो भएको पनि बताए । कुर्सी उपलब्ध भएपछि प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन जारी राखेका छन् ।



