पाँचथर / पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको सा'मूहिक ह'त्याको एक वर्ष पूरा भएको छ । गत वर्ष जेठको ७ गते बिहान स्थानीयवासीले यहाँका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनालाई धारिलो ह'तियार प्रहार गरी ह'त्या गरिएको अवस्थामा फेला पारेका थिए ।

करिब १५ मिनेट पैदल दूरीमा घर रहेका फियाक र शेर्मा ससुरा–ज्वाइँ हुन् । घटना भएको एक वर्ष पूरा हुँदासमेत गाउँलेले यो घटनालाई निकै अन्योल र चासोका साथ हेरिरहेका छन् । आरुबोटेका स्थानीयवासी दैनिकजसो उक्त घटना सम्झने गर्दछन् । एकै जना व्यक्तिबाट उक्त घटना घटाइएको प्रहरी निष्कर्ष रहे पनि सोही कुरा गाउँलेमाझ प्रभावकारीरूपमा नपुग्दा कतिपयले शङ्काको दृष्टिले समेत हेर्ने गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो थियो घ'टना:विसं २०७६ जेठ ६ गते मध्यरात बमबहादुरका छिमेकी कान्छीमाया फियाकको ढोकामा ‘बोजु, बोजु…’ (हजुरआमा) भन्ने आवाज आयो । बमबहादुरकी नातिनी सीता खजुमको आवाज कान्छीमायाले थाहा पाइहालिन् । उनले घरको ढोका खोलिन् । सीता घरमा छिरेर विस्तारै ढोका लगाइन् । उनी रगतमा लत्पतिएकी र हातमा चोट लागेको अवस्थामा थिइन् । कान्छीमायाको घरमा त्यो दिन अर्की गाउँले दिदी पनि थिइन् । सीताले मखुण्डो लगाएका व्यक्तिले परिवारका अन्य सदस्यलाई खुकुरी प्रहार गरिरहेको सुनाइन् । कान्छीमायाले चोट लागेको सीताको हात कपडाले बाँधिदिइन् ।

अत्यासलाग्दो अवस्थामा उनीहरुले रात बिताए । गाउँमै रात बिताएकी अर्की छिमेकी सुनकान्छी फियाक बिहान घर आइन् । बमबहादुरको घरमा कोही नउठेपछि खोज्दै पुगिन् । बमबहादुरको घरको नजिकै कान्छीमाया र सुनकान्छीको घर छ । घरको सिकुवामा बमबहादुरको विभत्स ह'त्या भएको अवस्थामा शव भेटेपछि उनी अत्तालिइन् । घरमाथिको डाँडामा निस्किएर चिच्याइन् । गाउँहरु भेला भए । कान्छीमाया पनि गाउँलेको आवाज सुनेपछि घर बाहिर निस्किइन् । यो घटना गाउँ, जिल्ला हुँदै देशभर फैलियो । विभत्स र अमानवीय उक्त सामूहिक ह'त्याकाण्डले सबैको ध्यान तानेको थियो । गत वर्षको जेठ ६ गते राति भएको घटनामा ७४ वर्षीय बमबहादुर फियाकसहित उनकी पत्नी ७१ वर्षीया फुर्चीमाया फियाक, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक र नातिनी (साइली छोरीकी छोरी) १० वर्षीया आशिका खजुमको ह'त्या भएको थियो । आशिकाकी दिदी सीता भागेर बाँच्न सफल भएकी थिइन् । सीता अहिले प्रदेश सरकारको संरक्षणमा सुनसरीमा बसेर पढ्दैछिन् । यस्तै बमबहादुरका ज्वाइँ ४१ वर्षीय धनराज शेर्माको घरमा उनीसहित उनकी पत्नी २६ वर्षीया जस्मिता फियाक (शेर्मा), उनीहरुका छोरी १२ वर्षीया युहाना शेर्मा र १० वर्षीया मुना शेर्मा तथा भतिजी आठ वर्षीया इच्छा शेर्माको ह'त्या भएको थियो ।

दोषीले गरेका थिए आ'त्मह'त्या:प्रहरीले घटनाको अनुसन्धान थाल्दै गर्दा बमबहादुरका कान्छा ज्वाइँ मिक्लाजुङ–८ लिम्बाका मानबहादुर माखिम घर नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परे । त्यसपछि उक्त हत्याकाण्डको सम्पूर्ण अनुसन्धान मानबहादुरमा केन्द्रित भयो । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत यहाँ ल्याइयो । मानबहादुरको साथबाट फेला परेका खुकुरी, डोरी तथा लत्ताकपडा, उनको मोबाइलको नेटवर्कको लोकेसन र घटनापछि उनले गरेको फोन सम्पर्कका आधारमा मानबहादुरलाई प्रहरीले ह'त्यामा संलग्न एकमात्रै अभियुक्त ठह¥याएको छ ।

उक्त घटनाको फाइल अझै पनि बन्द भएको छैन । “सबै प्रमाणहरुले आत्महत्या गर्ने व्यक्ति नै दोषी हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छ”, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भन्नुभयो । उक्त घटनापछि आरुबोटेमै प्रहरीको अस्थायी चौकी बसेको छ । “स्थानीयवासीको त्रास न्यूनीकरण गर्न प्रहरी राख्नैपर्ने भयो । घटनास्थलको नजिकै वडा कार्यालय र केही पर विद्यालय रहेकाले प्रहरी चौकी स्थापना गरिएको हो”, प्रनाउ न्यौपानेले भन्नुभयो ।

सधैँ सम्झन्छन् गाउँले:वडाध्यक्ष हस्तराज फियाकका अनुसार गाउँलेहरुले उक्त घटनाबारे दैनिक कुराकानी गरिरहेका हुन्छन् । “गाउँको केन्द्र भागजस्तो स्थानमा यो ह्दयविदारक घटना भयो । गाउँलेहरु धेरै समय त त्रासमै बसे । अहिले जनजीवन सामान्य भए पनि दैनिक कुराकानी गर्छन्”, वडाध्यक्ष फियाकले भन्नुभयो । “एक त यस्तो सोच्नै नसकिने घटना भयो । एकै व्यक्तिबाट नौ जनाको ह'त्या भयो । दोस्रो बमबहादुर र धनराजका परिवार आफैँमा अलग र गाउँलेको आँखामा नबिझाउने थिए । यसैले गाउँले सधैँ सम्झन्छन्” वडाध्यक्ष फियाकले थप्नुभयो । धनराजको घर वडा कार्यालय तथा आरुबोटे बजारकै छेउमा भएकाले पनि सबैले देख्ने र सम्झने गरेको स्थानीयवासीको भनाइ छ ।

अहिले गाउँमै प्रहरी बसेकाले गाउँलेहरु असुरक्षित महसुस भने गर्दैनन् । तर मानबहादुर एक्लैले सबैको हत्या गरे वा गरेनन् भन्ने कुरामा गाउँलेहरुबीच एकमत छैन । “धेरै कुरा आउँछन् । प्रहरीले आश्वस्त पार्न पनि सकेको छैन”, वडाध्यक्ष फियाकले भन्नुभयो । उक्त घटनाको फाइल बन्द नभएकाले घटनाबारे प्रहरीले सार्वजनिकरूपमा केही भन्न नसक्ने प्रनाउ न्यौपानेको भनाइ छ । “घटनाका थप प्रमाण प्राप्त हुन सक्छन्, यसैले सार्वजनिकरूपमा केही भन्न त सकिएन । तर हाम्रो निचोड भनेको त्यही झुण्डिएर मर्ने व्यक्तिले घटना घटाएको हो”, प्रनाउ न्यौपानेले भन्नुभयो, “थप केही कुरा आए सार्वजनिक गरिहाल्छौँ । त्रास नहोस् भनेरै प्रहरी चौकी स्थापना गरिएको हो ।”

रित्तै छन् दुवै घर :बमबहादुर फियाकका छोरा नभएकाले माइला ज्वाइँ धनराज शेर्मा वृद्ध सासुससुराको हेरचाह गर्न पुख्र्यौली थलो सराङडाँडाबाट ससुराली गाउँ आरुबोटे बसाइँ सरेर गएका थिए । ह'त्याकाण्डपछि दुवै घर रित्तै भएका छन् । घटनाको केही दिनसम्म घर सिल गरिएका थिए । पछि यहीँ आफन्तले काजकिरिया गरे । त्यसपछि दुवै घर रित्तै रहेको वडाध्यक्ष फियाकले बताउनुभयो । नजिकका आफन्तले पनि जग्गा–जमिन भोगचलन गरेका छैनन् ।