काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाबारे एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बिहीबार आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आउँदो साताभित्र निचोडमा पुगिने बताउनुभयो ।

‘अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन’ उहाँले भन्नुभयो, ‘परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

शिक्षामन्त्री पोखरेलले लकडाउनपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो ।
‘्असार १ गतेबाट विद्यालय खोल्न खोजिएको होइन’, उहाँले भन्नुभयो, ‘तत्कालका लागि विकल्प मात्र हो । ४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्नेछौँ । दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्नेछ ।’

मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो । ‘पहिलो १५ दिनको काम हेरौँ’ उहाँले भन्नुभयो, ‘सबै विद्यार्थी त्यसबाट लाभान्वित भए त्यसलाई शैक्षिकसत्रसँग जोड्न सकिन्छ र त्यसले औपचारिक मान्यता पाउने छ ।’ जनता समाचार बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय