पोखरा :— पोखरा–२५ हेम्जाका किसान शालिकराम बाँस्तोलाले ५ रुपैयाँ प्रतिकिलोमा बन्दा बेचे । जब कि उनको उत्पादन लागत नै ८ देखि १० रुपैयाँ प्रतिकिलो पर्छ । ६० रुपैयाँ प्रतिकिलो उत्पादन लागत लाग्ने सिमी उनी ५० रुपैयाँ प्रतिकिलोमा बेच्न बाध्य छन् । लकडाउनको अवधिमा तरकारी खपत घट्दा पोखराका किसानले उत्पादनको उचित मूल्य नपाएका हुन् ।
यो सिजनमा हेम्जाका किसानको लागत पनि नउठ्ने बाँस्तोला बताउँछन् । ‘बारीमै तरकारी कुहाएर फाल्नु पनि भएन,’ देवीस्थान कृषि सहकारीका अध्यक्षसमेत रहेका उनले भने, ‘सस्तोमै भए पनि बेच्नुको विकल्प छैन ।’ कृषकले सिधै नबेची थोकमा बेच्नुपर्दा पनि लागतअनुसारको मूल्य नपाएको उनको गुनासो छ । सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत हाइटेक टनेलमा तरकारी खेती गर्छ । उनका अनसार हाइटेकलाई चाहिने उन्नत बीउबिजनको पनि अभाव छ । उन्नत जातको गोलभेडा, क्याप्सिकमलगायत तरकारीको बीउ बजारमा पाइएको छैन । ‘हाइटेकमा लोकल बीउ लगाएर भएन,’ उनी भन्छन्, ‘विदेशबाट आउने बीउ नआए पनि अन्य उन्नत जात सिफारिस भएको छैन ।’
पोखरामा हेम्जा, मालेपाटन, भरतपोखरी, पुम्दीभुम्दी र लेखनाथ धेरै तरकारी उत्पादन हुने क्षेत्र हुन् । ती स्थानबाट कृषकले पृथ्वीचोकमा रहेको कृषि उपज थोक बजारमा तरकारी पुर्याउँछन् । लकडाउनकै कारण थोक बजारसम्म तरकारी पुर्याउन अप्ठ्यारो भएको छ । लकडाउनमा तरकारी ढुवानीको लागत बढेको पोखरा–३३ भरतपोखरीका किसान चन्द्र पौडेलले बताए । ‘पहिला नगर बसमा डोकोको ४०–४५ रुपैयाँ तिरेर तरकारी लैजान्थ्यौं,’ उनले भने, ‘अहिले ४–५ डोकोलाई १५ सय तिरेर जिप नै रिजर्भ गर्नुपर्छ ।’
सिधै किसानबाट तरकारी किन्दा उपभोक्ता र कृषक दुवैलाई सस्तो पर्ने उनी बताउँछन् । कृषकले थोक बजारमा पुर्याएको तरकारी बिचौलियाले किनेर लैजाने र उपभोक्तालाई महँगोमा बेच्ने गरेको उनले सुनाए । ‘पोखरामै तरकारी खपत कम भएको अवस्था छ,’ उनले भने, ‘झन् जिल्ला बाहिरबाट तरकारी भित्रिँदा पनि यहाँका किसानले कम मूल्य पाएका छन् ।’
कृषि उपज थोक बजार सञ्चालन गर्ने कृषि बजार व्यवस्थापन समितिको तथ्यांकअनुसार सिजनमा दैनिक २५–३० मेट्रिक टन तरकारी पोखरामा उत्पादन हुन्छ । बेमौसममा १८–२० टन हुन्छ । लकडाउन अवधिमा ८० देखि एक सय टन तरकारी अन्य जिल्लाबाट भित्रिन्छ । महानगरले जेठ ११ देखि बाहिरी जिल्लाको तरकारी नल्याउने निर्णय गरेपछि भने पोखराको उत्पादन मात्रै खपत हुन्थ्यो । तरकारी महँगिएको गुनासो बढेपछि जेठ १९ मा महानगरले उक्त निर्णय फिर्ता लिएको थियो । जेठ १९ पछि भने बाहिरी जिल्लाबाट तरकारी भित्रिने क्रम ह्वात्तै बढेको समितिकी योजना सहायक रुपा दाहालले बताइन् । उनका अनुसार हाल २ सयदेखि २ सय ५० टन तरकारी र त्यति नै मात्रामा फलफूल बाहिरी जिल्लाबाट पोखरा भित्रिन्छ ।
काठमाडौं, काभ्रे, मकवानपुर, चितवन, रुपन्देही, धादिङ, तनहुँबाट धेरै तरकारी कास्की भित्रिन्छ । हाल भारतबाट भने तरकारी नआएको उनको दाबी छ । पोखरामा अन्यत्रभन्दा तरकारी उत्पादन लागत बढी पर्ने महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाको भनाइ छ । अन्यत्रको तुलनामा यहाँका तरकारीमा कम विषादी प्रयोग हुने उनले बताए ।
लकडाउनमा भने खपत कम भएरै किसानले कम मूल्य पाएको उनी स्विकार्छन् । उनका अनुसार हाल पोखरामा ७० प्रतिशतसम्म तरकारी र फलफूलको खपत कम भएको छ । होटल, रेस्टुरेन्ट, होस्टल सबै बन्द छन् । पोखरा बस्ने धेरै गाउँ फर्किएका छन् । भएकाले पनि आफैं उत्पादन गर्न थालेका छन् ।
श्रोत: ईकान्तिपुर बाट



