हरिशरण न्यौपाने/ काठमाडौ । हरेक क्षेत्रले राहतको आशा गरिरहेका बेला सुनचाँदी व्यवसायीले संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको माग गरेका छन् ।
मूल्यवृद्धिका कारण बजारमा सुनको फिर्ता बिक्री गर्नेको घुँइचो लाग्नसक्ने भन्दै सहजीकरण गरिदिन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । कोरोना महामारीको कारण जारी रहेको लकडाउनले गर्दा बन्द भएका सेवा, उद्योग, पसल क्रमशः खुल्ने क्रममा छन् । यस्तैमा सुनचाँदी व्यवसायीले आवश्यक सहुलियत प्याकेजको माग गरेका छन् ।
गत वर्षदेखि नै लगातार सुनको मूल्यमा देखिएको उच्च मूल्यवृद्धिले एकातिर सुनचाँदीको बजार कारोबार ठप्प प्रायः थियो । अर्कातिर करिव ३ महिनादेखिको लकडाउनले यस क्षेत्रलाई थप संकटग्रस्त बनाएको सुनचाँदी व्यवसायीले बताएका छन् । लकडाउनका कारण ब्यवसायीले घर बहाल भुक्तानी गर्न, कर्मचारीको तलब, बैंक किस्ता र ब्याज बुझाउन कठिनाइ उत्पन्न भएको बताएका छन् । कोरोनाकै कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण बढेपछि केही दिन यता सुनको मूल्य तोलाको ९० हजार हाराहारीको उच्च विन्दुमा पुगेको छ ।
हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजस्व भन्सार अभिवृद्धिले सुनको मूल्यलाई थप महँगो बनाएको छ । व्यवसायीका अनुसार एकातिर लकडाउनको कारण खर्च अभाव झेलिरहेका सर्वसाधारणको घुइँचो फिर्ता बिक्रीको लागि एकैचोटी आएमा बजारले थेग्न सक्ने अवस्था रहँदैन । त्यसैले बजारले सामना गर्न नसक्ने अहिलेको परिस्थितिमा ब्यवसायीले आवश्यक नगदको बन्दोबस्त गर्न, आम उपभोक्तालाई केही समय धैर्य धारण गर्न र सरकारले नीतिगत निर्णय गरी सक्दो सहजीकरण गर्न आग्रह गरेका छन् ।
एकातिर स्वास्थ चुनौती, अर्कोतिर बढ्दो मूल्य र मास्क लगाएका ब्यक्तिसँग कारोबार गर्दा हुनसक्ने थप सुरक्षा चुनौतीको कारण सरकारबाट चुस्तदुरुस्त सुरक्षा प्रत्याभूतिको व्यवस्था गराउन भनेका छन् । कोरोना महामारीको प्रभावबाट सुनचाँदी ब्यवसायमा उत्पन्न भएको विशेष परिस्थितिको सामना गर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुनचाँदीको बजारलाई सामान्यीकरण गर्र्न ब्यवसायी, आम उपभोक्ता एवं नेपाल सरकारबाट आवश्यक सहयोगका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले विशेष अनुरोध गरेको छ ।
करिब ६० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको व्यवस्था गरिदिन व्यवसायीको माग छ । जनता समाचार बाट



