प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका लागि चुनावी मैदानमा भिडिरहेकी छन् । प्रधानमन्त्री प्रचण्डकी पुत्री दाहालको चुनावी क्षेत्र भएका कारण पनि चार महानगरपालिकामध्ये भरतपुर अहिले ‘हट केक’ बनिरहेको छ ।
एक लाख बाह्रहजार मतदान भएको भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । जसमध्ये अहिलेसम्म ७ वटा वडाको मात्रै मत गणना भएको छ । संयोग कस्तो पर्यो भने, भरतपुरमा मतगणना चल्दै गर्दा प्रधानमन्त्री तथा रेणुका बुवा प्रचण्ड चितवन पुगेका छन् । उनी छोरीले जित्नै लागेको भएर चितवन पुगेका भने होइनन् । बाहिरबाट हेर्दा प्रचण्ड भरतपुर पुग्नुसँग रेणुको चुनावी भिडन्तको कुनैपनि साइनो छैन । वा, अव छोरीले जित्छे भनेर प्रचण्ड गम्किएर चिवतन पुगेका हुन् त्यो उनैले जानून् । तर, मतगणनालाई प्रभावित पार्न प्रचण्ड भरतपुर गएको भन्दै नेकपा एमालेलका कार्यकर्ताले सामाजिक सञ्जालहरुमा विरोध जनाइरहेका छन् ।
चुनावी अंकगणित
अब चुनावी अंक गणितको कुरा गरौं । के रेणुले देवीलाई पछाडि पार्न लागेकी हुन् ? चितवनका एमाले कार्यकर्ताहरुले नै रेणुलाई हराउन अब त्यति सहज नभएको विश्लेषण गर्न थालेका छन् । एमालेका एक जिल्ला तहका नेताले भने ‘ चुनावी प्रतिस्पर्धा कडा भएको छ, हामीले सोचे अनुरुपको मत चाही नआएकै हो ।’
चितवनमा २९ वटा वडा छन् । ६ नम्बर वडाको मत गणना हुँदासम्म रेणुमाथि देवीको अग्रता कायमै थियो । तर ६ नम्बर वडाको मत गणना हुँदै गर्दा रेणुले मत अन्तर घटाइन् । कांग्रेस बलियो मानिएको वडा नम्बर ७ मा पनि रेणुले सन्तोषजनक मत ल्याइन् । त्यसपछि चाहिँ उनको झिनो अग्रता कायम भयो ।
एमाले नेताहरुले वडा नम्बर सातमा धेरै मतको आशा नगरेको बताएका छन् । कांग्रेसको गढको रुपमा रहेको वडा नम्बर ६ बाटसमेत रेणुले राम्रै मत पाएकी छिन् । जसका कारण उनको अवस्थामा सुधार आएको छ । वडा नम्बर पाँचसम्मको एरिया नारायणगण बजार एरिया हो । त्यहाँबाट एमालेले राम्रै मत ल्यायो । त्यस्तै वडा नम्बर दुईमा वडाध्यक्ष पनि एमालेले जित्यो ।
३ र ४ मा कांग्रेले वडाध्यक्ष जितेको भएपनि मेयरको मत चाहिँ रेणुलाई खसेन । यस कारणले सो बजार क्षेत्रले कांग्रेस माओवादी गठबन्धन मन पराएन भन्न सकिन्छ । त्यसपछि एकै पटक वडा नम्बर ६ मा आएपछि रेणुले व्यापक सुधार गरिन । सातमा समग्रमा एमाले राम्रो देखिएपनि मेयरमा चाहिँ उनको पक्षमा बढी मत आयो ।
अब वडा नम्बर ८ र ९ बाट पनि रेणुकै पक्षमा मत खस्ने अनुमान गरिएको छ । यी दुई वडा पनि कांग्रेसी गढ क्षेत्र हुन् । कांग्रेसले गठबन्धनलाई स्विकार गर्दै रेणुलाई मत दिएको खण्डमा उनी अझ अघि लाग्ने छिन् ।
वडा नम्बर १०, ११ र १२ मा चाहिँ एमालेले आफ्नो पक्षमा धेरै मत ल्याउने आशा गरेको छ । तर त्यहाँको मत कस्तो आउँछ भन्न सक्ने अवस्था छैन । सदरमुकाम क्षेत्रमा पर्ने यी वडामा भरतपुरको घना वस्तीहरु छन् । यी बस्तीमा एमाले नेताहरुका घर पनि छन् । यहाँ एमालेले राम्रै मत ल्याउने विश्लेषण गरिएको छ ।
तर, त्यसपछिको चुनावी यात्रा चाहिँ एमालेको लागि कठिन छ । मंगलपुर, शिवनगर, फूलबारी, शारदानगर, गुन्जानगरजस्ता कांग्रेस बलियो रहेका वडाको मतले अग्रता घट्ने एमालेको आकलन छ । त्यसपछि २७, २८ र २९ वडाबाट आफूहरुलाई भोट आउने अपेक्षा एमालेले गरेको छ ।
तर यी तीन वडा भन्दा अघि कांग्रेस माओवादी गठबन्धको भोट धेरै आउने अपेक्षा गरिएको छ । पूर्वी चिवतनको कांग्रेसी अड्डामा यसैपनि रेणुलाई धेरै मत आउने अपेक्षा गरिएको छ । कांग्रेसले उम्मेदवारी फिर्ता गर्न लगाएका दिनेश कोइराला स्वयमको ठाउँबाट रेणुलाई राम्रो मत आएपछि गठबन्धनमा राम्रै मत आउने अपेक्षा गरिएको छ ।
रेणुले आफूलाई कसरी सुधार गरिन् ?
एक देखि पाँच वडा सम्मको मत गणना गर्दा देवी ज्ञवालीले ७३४७ मत ल्याएका थिए भने रेणुले ५७३४ मत पाएकी थिइन् । पाँच नम्बर वडा कांग्रेसी अड्डा भएपनि त्यहाँबाट रेणुलाई मत आएन । महानगरको ६ नम्बर वडा पनि कांग्रेसको राम्रो पकड भएको स्थान हो । यो वडामा कांग्रेसका वडाध्यक्षले २३ सय १९ मत ल्याए । माओवादी केन्द्रका वडाध्यक्षले १४८० मत ल्याए । एमालेले चाहिँ ९ सय मत मात्रै ल्याएको छ ।
समग्रमा ६ नम्बरबाट ज्ञवालीले १४८८ मत थपे । रेणुले चाहिँ २४ सय ५४ मत ल्याइन् । त्यसपछि रेणुको आशा फर्कियो । कांग्रेस र माओवादी दुबैको भोट उनले आफ्नो पक्षमा पारिन् । यो वडा सकिँदा देवी ९ सय ७६ मतले अघि थिए ।
वडा नम्बर ७ मा पनि रेणुले राम्रो मत ल्याइन् । देबीले १२ सय ३६ मत ल्याउँदा रेणुले १८८० मत ल्याइन् । त्यसपछि रेणुले अग्रता लिन थालेकी हुन् । अहिले रेणु सय मत भन्दा कम मतसहित पहिलो स्थानमा छिन् ।



