काठमाडौं : भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई राजदूतको रुपमा संसदीय सनुवाइ समितिले अनुमोदन गरेको छ।

उनीहरुको गत बिहीबार नै सुनवाइ भएको थियो। लीलामणिको नाममा सर्वसम्मत भए पनि दीपकुमारको नाममा एमालेले मौखिक असहमति प्रकट गरेको छ।

सुनुवाइका लागि सिफारिस भएका व्यक्तिलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने प्रावधान नियमावलीमा छ। तर एमालेले उपाध्यायको नाममा कुनै लिखित फरक मत भने राखेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'समितिमा मत विभाजनको अवस्था पनि नभएकाले एमालेको सहमति वा असहमति भन्न पनि मिलेन, उहाँहरुको कुनै लिखित फरक मत पनि छैन,' एक सदस्यले पहिलोपोस्टसित भने, 'त्यसैले सर्वसम्मत भन्ने कि बहुमत।' एमालेका सांसदहरुले सनुवाइका क्रममा भारतका लागि राजदूतको रुपमा असफल भइसकेका उपाध्ययालाई फेरि राजदूत बनाउँदा देशको भन्दा पार्टीको राजदूत हुने टिप्पणी गरेको थियो।

सनुवाई विशेष समितिका सचिव ध्रुब घिमिरेले उनीहरुको नाम अनुमोदन भएको जानकारी दिए। 'माइन्युटमा एमालेको असहमति भनेर लेख्ने कुरा भयो। तर नियमावलीको व्यवस्था अनुसार अस्वीकारका लागि दुइ तिहाइ नपुगेकाले अनुमोदन भन्ने गरि लेख्ने', घिमिरेले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि राजदूत रहेका उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनै उपाध्यायलाई कांग्रेसको सिफारिसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत सिफारिस गरेको थियो।

यसैबीच न्यायपरिषद् सदस्य रामप्रसाद सिटौलाको नाम पनि समितिले अनुमोदन गरेको छ। उनको नाममा परेको एकमात्र उजुरी परेको थियो। उजुरीकर्ताले ठेगाना नराखेकाले छलफलमा बोलाउन नसकिएको समितिले जनाएको छ। आइतबार नै बसेको समितिको दोस्रो बैठकले उनको सनुवाइ गरी नाम अनुमोदन गरेको हो।