धारिलो हतियार प्रहारबाट १ जनाको मृत्यु संखुवासभा, असार ३० गते । संखुवासभाको धर्मदेवी नगरपालिका(१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संग्लग्न गंगा राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पहिरोले बगाएर १ महिलाको मृत्यु मोरङ, असार ३० गते । मोरङको केरावारी गाउँपालिका(२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा बुझाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । खोला तर्ने क्रममा बगाएर बेपत्ता मोरङ, असार ३० गते । मोरङको रतुवामाई नगरपालिका(३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका(७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।










