दमक/ एनआइसी एशिया बैङ्कले कोरोना सङ्क्रमणको समयमा बैङ्कमा रहेको रकमलाई चलायमान बनाउन सुपर चमत्कारिक कर्जा योजना ल्याएको छ । शुक्रबार झापाको दमकमा बैङ्कले पत्रकार सम्मेलन गर्दै यस्तो योजना सार्वजनिक गरेको हो । पत्रकार मञ्च दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उसले विज्ञप्तिमार्फत आफ्नो योजना सार्वजनिक गरेको छ ।
बैङ्कले तीनवटा योजना सार्वजनिक गरेको हो । विज्ञप्तिमा बैङ्कले अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण नयाँ योजना ल्याउने क्रमलाई निरन्तरता दिँदै सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । यसमा बैङ्कले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जा उपलब्ध गराउने जनाएको छ । उक्त ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने पनि बैङ्कले स्पष्ट पारेको छ ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माणका लागि जग्गा खरिद आदि वित्तीय सेवा लिन बैङ्कले न्यूनतम ५ देखि अधिकतम ३० वर्ष कर्जाको समायवधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख कर्जा सीमा कायम गरिएको जनाएको छ । उसले यसमा ५० लाखसम्मको ओभरड्राफ्ट सुविधासमेत लिन सक्ने जनाएको छ । उसले घर निर्माणमा शतप्रतिशत सम्म कर्जा प्रवाह गर्ने समते जनाएको छ ।
त्यस्तै, सुपर चमत्कारिक सवारी कर्जातर्फ रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी कर्जा उपलब्ध गराउने पनि जनाएको छ । उसले अन्य बैङ्कमार्फत कर्जा उपभोग गरिरहेकाहरुले समेत आफ्नो कर्जा स्थानान्तरण गरी सेवा लिन सक्ने समेत जनाएको छ । बैङ्कले यो सुविधाका लागि अधिकतम २ करोड कर्जा सीमा कायम गरेको जनाएको छ । त्यस्तै, सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्ष र सवारी तथा रियल इस्टेट दुवै धितो राखेको हकमा कर्जा अवधि १५ वर्ष हुने जनाएको छ ।
त्यस्तै, सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा अपभोग गर्न सक्ने भन्दै यस्तो कर्जा १ करोडसम्म निर्धारण गरेको जनाएको छ । बैङ्कले यी तीनवटै कर्जा आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै निर्णय दिने पनि उल्लेख गरेको छ । उसले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाइसकेको दाबीसमेत गरेको छ ।






