पहिलो चरणको निर्वाचन सकिएर पूर्ण नतिजा आइसकेका स्थानीय तहमा फेरि अर्को चुनाव हुने भएको छ । स्थानीय तह अन्तर्गत महानगर, उपमहानगर तथा नगरपालिकाहरुमा नगरकार्यपालिका र गाउँपालिकाहरुमा गाउँकार्यपालिका गठनका लागि चुनाव हुन लागेको हो ।
नगर र गाउँको कार्यपालिकामा चुनाव लड्न चाहने उम्मेदवारहरुले सम्बन्धित दलको आधिकारिक पत्र बुझाउन निर्वाचन आयोगले आह्वान गरेको छ । निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै गाउँसभाले निर्वाचित गर्ने गाउँकार्यपालिका एवं नगरसभाले निर्वाचित गर्ने नगरकार्यपालिकाको सदस्य बन्न चाहने उम्मेदवारलाई दलको मनोनयन पत्र अनिवार्यरुपमा ल्याउन भनेको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय निर्वाचन सम्पन्न भएको १५ दिनभित्र नगरपालिकामा ५ जना महिला सदस्य र ३ जना दलित वा अल्पसंख्य सदस्यसहित ८ जनालाई निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित वा अल्पसंख्यक सदस्यसहित ६ जनालाई कार्यपालिका प्रतिनिधिका लागि निर्वाचित गर्नुपर्ने स्थानीय तह निर्वाचन एनेमा व्यवस्था छ ।
आयोगले प्रकाशन गरेको सूचनाअनुसार गाउँ तथा नगरकार्यपालिकाको निर्वाचनका लागि उम्मेदवारी दिने व्यक्तिले सम्वन्धित दलको पदाधिकारीकै हस्ताक्षर भएको मनोनयन पत्र पेश गर्नुपर्ने हुन्छ । र सोही अनुसारको कागजपत्रका आधारमा मात्रै उम्मेदवारी दर्ता गर्न पनि आयोगले निर्वाचन अधिकारीहरुलाई परिपत्र गरेको छ ।



