प्रत्येक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथिमा नागको चित्र आ–आफ्ना घरको मूलढोकामा टाँसेर नागको मन्त्र उच्चारण तथा सम्बोधन गरी पूजा गरिन्छ । पानीको मूल भएको धारा, पँधेरा, जलाशय तथा पोखरीहरूमा नाग बस्छन् भन्ने जनविश्वास हिन्दू, बौद्ध र अन्य धर्मावलम्बीमा समेत भएकाले त्यस्ता स्थानहरूमा पनि नागको पूजा यथाशक्ति गरिन्छ । तर, नेपालका कुनै–कुनै पोखरीमा नाग छन् भन्ने विश्वास भए पनि पूजा गरिँदैन ।

भक्तपुर दरबार क्षेत्र आसपास र थालाछेंमा ढुंगाको प्रतिमा, सुनको जलप लगाइएका फणायुक्त नागहरूको चित्रले आकर्षण देखाइएका सो पोखरीमा आध्यात्मिक र भावनात्मक दृष्टिकोणले नागहरूको पूजा गरिँदैन । पूजा नगर्नाको कारणमा संस्कृतिविद् तथा जिज्ञासुले स्थानीय व्यक्ति तथा कुनै पुजारीसँग जिज्ञासा राख्दा सो पोखरीमा परापूर्व कालमा तत्कालीन मल्ल राज्यका रानी तथा राजकुमारीहरूले स्नान गर्ने हुँदा त्यहाँका नागको मर्यादा र पूजा नभएको हुन सक्ने अनुमान बताउँछन् । पुराणमा स्वर्ग, मत्र्य, पाताल लोकको जस्तै नाग लोकको पनि वर्णन छ । नागलोकका नागमा तक्षक, सोमक्षिकी, शंखपाल, स्वरूप, कुलिक, अपपाल, नन्दु, उपनन्द आदि विशेष चर्चित र अन्य सामान्य नागहरूमा कफेरिक, महापाल, अनन्त, शोभ आदिको वर्णन छ । तर, भगवद्गीतामा अनन्त नागलाई र बौद्ध दर्शनमा नन्द उपनन्द नागलाई उच्च स्थानमा तुलना गरिएको छ । यिनै प्रसंगमा हिन्दू, बौद्धलगायत अन्य धर्मावलम्बीले मनाउँदै आएको पर्व हो नागपञ्चमी ।

यस पर्वमा नागको विशेष नाम र साथै अन्य प्राणी माकुरो, बिच्छी, माछा आदिको पनि चित्र बनाई सम्झना पूजा गरिन्छ । प्राणी शास्त्रअनुसार नाग र सर्पलाई ‘सरिशृप’ अर्थात् घस्रने र हिँडाइ छिटो हुने प्राणी वर्गमा राखिएका छन् । यिनीहरूको फरक चाहिँ गहिरिएर अध्ययन नगरीकन झट्ट छुट्ट्याउन सकिन्न । संस्कृत व्याकरणमा सर्प शब्दले छिटो अथवा चाँडो हिँड्ने बुझाउँदछ । ललितपुरको धापाखेलमा अवस्थित नागदहमा धार्मिक, पौराणिक तथा ऐतिहासिक अभिलेखहरू सुरक्षित राखिएका छन् । जसमा महामञ्जुश्रीले काठमाडौं दहको पानी चोभारको गल्छीबाट कटाई बाहिर पठाउँदा त्यहाँका नागहरूलाई अर्को बसोवासका लागि सो नागदह निर्माण गरिएको उल्लेख छ ।

नागको महिमाको सम्झना गरी राख्न नागपोखरी, नागस्थान, नागढुंगा आदि नामका स्थान काठमाडौं वरपर प्रसिद्ध छन् । नागपञ्चमीको दिनको पूजामा मात्र होइन, नाग प्राणीहरूमा श्रद्धा, धार्मिक आस्था हुने श्रद्धालु व्यक्तिहरू नयाँघरको जग खन्दा, चाडपर्वलगायत विवाह, ब्रतबन्ध शुभअन्न प्रशासन आदिमा नागदेवताको चित्रमा पूजा गरिन्छ । जिल्लाका कुनै गाउँ, ठाउँमा जंगल तथा जमिनमा नाग देवता रहने सम्झनामा नाग, मष्ट, रुमाल र भूमे देवताका लागि मन्दिर नै निर्माण गरिएको र मन्दिर निर्माण नभएको ठाउँमा केही रूख सुरक्षित राखी भूमे देवता स्थान सम्झिएर पूजाआजा गर्ने चलन छ । गोरखाको स्यार्तान भञ्ज्याङ गाउँमा कुलायन पूजा हुँदा भूमे देवता सम्झिएर नागको निमित्त नैवेद्य पुणोसार्ने चलन छ । नाग र सर्पबारे पौराणिक ग्रन्थ इतिहासमा अपत्यारिला प्रसंग पनि पाइन्छन् ।

नागलाई दक्ष प्रजापतिकी छारी र कश्यप ऋषिका पत्नी भनेर चिनाइएको छ । नागहरूलाई नै गरुडले चिथोरेको कोपरेको प्रसंग र सुन्दरी राम्री कन्यालाई नाग जस्तै राम्री भनेर उपमा दिइएको छ । राम्री देखेर नाग कन्या उलुमीलाई महाभारतका पात्र अर्जुनले विवाह गरेको उल्लेख छ ।

नागकै पक्ष विपक्षका कथामा यमुना नदीलाई विषमुक्त गराउन त्यहाँ भएको काली नागको दमन र स्थानान्तरण गरिएको, परीक्षितलाई डस्ने, तक्षकनाग, शिवको गलामा बेरिएका नाग तथा सर्प, विष्णुले आशन बनाएका नाग, समुद्र मन्थनमा नेती (डोरी) बनाइएका वासुकी नाग, पृथ्वी हल्लिएर भूकम्प हुने डर हुँदा सो हुन नदिन ब्रह्माजीको आज्ञाले पृथ्वीलाई स्थिर राख्न आफ्नो फणामा अड्याउन सक्षम शेषनाग, वासुकी नागकी बहिनी जरत्कारुले यायावर वंशका जरत्कारु ब्राह्मणसँग विवाह गरी आस्तिक छोरा जन्माएकी, जनमेजयको सर्पयज्ञमा डड्न नपरेको अजर अमर तक्षक नाग, आदि आदि कथाहरू उल्लेख छ । नागपञ्चमीबारेमा इतिहास पुराण र जनविश्वास आदिका आकर्षणमा सामान्यतः नाग सर्पबाट जोगिन सुरक्षित हुन गरिएको पूजाको अर्थ लाग्दछ ।

तर, नाग र नाग वंशीको ऐतिहासिक धारणामा उनीहरू मानव वंश र जातिको एउटा हाँगो नै भएको जानकारी पुष्टि पनि हुन आउँदछ । ब्रह्माण्ड पुराणको कथनमा स्त्री जातिको समाजमा दिजी, अदिजी, दनु, प्राधा, पुलोमा, विनिता, कद्रु आदि दिदी बहिनीहरूको विवाह कश्यप ऋषिसँग भएको र कद्रुबाट नागवंश उत्पत्ति भएको उल्लेख छ । नाग वंशमा अनन्त, वासुकी, शंख, पद्य, महापद्य, तक्षक कुलिर र गंगटोजस्तै डल्लो आकारको कर्कट नागहरू नागको एक गण र अर्को गणमा कम्बल, अपराजित, कालीय नागहरू परिचित भए ।

यिनीहरू आफ्नो जातिमा मात्र र गणमा सीमित नभई नाग देवता र मानव समुदायमा पनि छ्याससिम भए । कालान्तरमा यिनीहरूकै बीचमा मत मतान्तर, युद्ध, मित्रता र विवाहसमेत भयो । यस्ता प्रसंगहरू रामायण, महाभारत र विभिन्न पुराणहरूमा विभिन्न ढाँचा, विभिन्न परिस्थितिमा कला, मनोरञ्जन, आस्था, द्वारपाल, सद्भावना, सु¥याइ, दासी तथा सेवकमा चर्चित छन् । नेपाल उपत्यकामा आफ्नो प्रभाव र अस्तित्वमा बसेका कर्कट वंशी नागहरू किराँत जातिहरूको आक्रमणमा परी अन्यत्र गएको उल्लेख पाइन्छ ।

नागल्यान्डवासीको पहिलो बासस्थान नेपाल नै भएको र आफ्नो जातिवाचक नाम ‘नाग’ नै भएको उल्लेख पाइन्छ । हिमाल, पहाडका महाभारत क्षेत्रमा बसोवास गर्ने नागपक्ष, गन्धर्व, खस आदि जातिहरूको रहनसहन, स्नेह, सद्भावना, आ–आफ्ना जाति विशेषमा राम्रो हुँदा आफ्नो एकता र मेलमिलापको परिचय दिन सर्पको माला लगाई सुशोभित भएका शिव महादेवलाई पुज्दथे । स्वर्गीय सूर्यमणि अधिकारी कृत बाइसे राज्यको इतिहासमा उल्लेख भएअनुसार कुनै पखतु नाग राजाको हिमाल पहाड, तराई, प्रदेशमा फैलिएर एउटा साम्राज्य नै खडा गरेका थिए ।

नागराजाका पाँचौं उत्तराधिकारी राजा क्राचलन थिए । डोटीको राजवंशावली र त्यहाँको जनश्रुतिमा उल्लेख भएअनुसार नागकै नामबाट प्रतापी राजा नाग मल्लको नाम उल्लेख छ । डोटी राज्यको प्रमुख किल्ला अथवा राजधानी अजयमेर कोटको मन्दिरमा भएको शिलास्तम्भमा ‘सूर्यमाला जयतादजसु श्री नागमल्ल… पराजगति … केतपतिरम्या देवालया निर्माण शुभम् उल्लेख भएको बताइएको छ । नाग मल्ल उत्तराधिकारी हुँदा नागपाल नामबाट चिनिएका थिए । नागपालले मल्ल घरानाकी राजकुमारी सूर्यमालासँग विवाह गरेपछि मल्ल पदवी धारण गरेको उल्लेख छ । नागको अध्ययनमा धार्मिक पक्ष र सामाजिक पक्षको पनि मिश्रण पाइन्छ । वर्तमान कालमा प्रत्येक राष्ट्रले आ–आफ्नो राष्ट्रको परिचयको निमित्त विभिन्न रंग आकारका झन्डा बनाई प्रस्तुत गरेझैं प्राचीन समयमा आ–आफ्ना राज्य तथा गणराज्यहरूमा बाँदर, भालु, सालको बोट, हात्ती, अजिंगर, नाग आदिको चिह्न राखेको इतिहासमा पढ्न पाइन्छ ।

त्यस्ता चिह्नको विशेष पर्व उत्सवमा रमाइलो गर्न पूजाआजा गर्दथे । नेपालमा नागपञ्चमीमा नाग पूजा गरिने संस्कारलाई त्यही प्रथाको निरन्तरताको मान्यता हो भन्ने भनाइ विद्वान् साहित्यकार मोदनाथ प्रश्रितको अध्ययनमा उल्लेख छ । बुद्ध दर्शनमा कपिलवस्तु गणराज्यका छिमेकी कोलियको गाउँ रामग्राममा प्राचीन समयमा नागहरूले नै रक्षा गरेका र कोलियको जातिवाचक नाम ‘नाग’ नै भएको उल्लेख पाइन्छ । सिद्धार्थको जन्म अलौकिक भएकाले त्यो क्षणमा त्यहाँ इन्द्र, ब्रह्मा, ऋषिगण र नागहरू उपस्थित भई स्तुति बन्दना, जलशेषन र फूल वर्षा गरेका र नागराज नन्द उपनन्दले चिसो र तातो जलधारा गराएर बोधिसत्व (सिद्धार्थ)लाई स्नान गराएको उल्लेख छ ।

सिद्धार्थ बुद्ध भएपछि बोधिवृक्षको आडमा रहँदा पुलिन्द नामको नागले सुरक्षाको निमित्त छाया परेको स्तुतिपाठ गरेका कुरा पुराणमा पाइन्छ । बौद्ध धर्ममा नागको ठूलो स्थान देखाइएको छ । पश्चिमा जगत्मा पनि नागहरूको प्रशंसा तथा पूजा नभएको होइन । मेकेन्जी महोदयले आफ्नो कृतिमा अमेरिकामा नाग वंश र त्यहाँका मन्दिरका भित्तामा नाग तथा सर्पको चित्र राखिएको, समय समयमा पूजा गरिएको उल्लेख गरेका छन् ।

कतै–कतै नागवंशी शासक नै भएका, नागबाट गढवालको नागाचल पर्वत कायम भएको, अलकनन्दा नदीको किनारामा बस्ने नागजातिको नामबाट नागपुर सहर कायम भएको तथ्य पाइन्छ । भारतको मध्य प्रदेश राज्यको मुआसे र राजवंशी जातिहरू आफूलाई सर्पको फूलबाट उत्पन्न भएको बताइएको पनि उल्लेख पाइन्छ । नेपालको गोरखा खरिबोट गाविस भञ्ज्याङ गाउँको नागे भन्ने जंगलको कुनै ठाउँको पहरामा नाग चिह्न नै प्राकृतिक रूपमा कुँदिएको जस्तो देखिँदा त्यो वन जंगल क्षेत्रको नाम नागे भनिएको छ । त्यस्तै कुनै अन्य गाउँमा नागवंशी मगर नै भएका र उनीहरू आफ्ना नाक तथा हात पाखुरामा नागको टाटु खोप्ने, प्रत्येक वर्षमा वर्षा सुरु हुँदा जलाशयवरपर जुन कुनै अन्नको पीठोको नाग तथा सर्पको चित्र प्रतिकमा दूधको धारा दिई पूजा गर्ने चलन भएको, आफू नागवंशी नै बताउँथे ।

तर, विष्णु वंशीहरूले नाग जातिलाई आफ्नो दास तथा डोले बनाएका, शेषनागहरूलाई आशन बनाएका, विभिन्न देवगणले यदाकदा नागहरूको शोषण गरेका घटनाहरूको वर्णन पनि पाइन्छ । महाभारतमा वर्णन गरिएअनुसार नर्मदा नदीको किनारामा कर्मटवंशी नागगणको राजधानी महिष्मतिमा कार्तविर्याजुनले हमला गरी उनीहरूलाई परास्त गरी आफ्नो राजधानी बनाएका, कुरुक्षेत्र (वर्तमान दिल्ली)को यमुना नदी किनारको खाण्डल वन वरपर तक्षकवंशी नागहरूको वासस्थानमा हमला गरेर पाण्डव वंशले विशाल इन्द्रप्रस्थ सहर बनाउने प्रयासमा लाग्दा सो हटाउन नसक्दा नागहरूले नै सो खाण्डव वनमा आगो लगाइदिए । नाग मानिसमा सम्झौता हुनु आवश्यक ठानेर अर्जुनले नागकन्या उमेलीसँग र कृष्णले पनि अन्य नागकन्यासँग नै विवाह गरे ।

तर, तक्षक वंशी नागले परीक्षितलाई झुक्याएर मारिदिँदा सोको प्रतिसोध लिन जन्मेजयले नाग तथा सर्पको उन्मूलन नै गर्ने मनसायले सर्प यज्ञ नै गराए । सो यज्ञमा ठूला, साना, माझौला सर्पहरू यज्ञमा मन्त्रको प्रभावले आकाश मार्गबाट खसेर स्वाहा हुने डढ्ने भइरहेकै थियो । नागहरूमा तक्षक मात्र जनमेजयको सर्प यज्ञमा होमिन परेको थिएन । ब्रह्माको आज्ञाले वासुकी नागकी बहिनी जरत्कारु र यायावर वंशका ब्राह्मण जरत्कारुको विवाहपछि, उनै दम्पतीबाट आस्तिक छोरा जन्मिएका थिए । उमेर बढ्दै गएपछि आमाको शिक्षाले पराक्रमी विद्वान् भए । कालान्तरमा आस्तिकको कूटनीतिक विद्वताले जनमेजयलाई रिझाइ लगातार भइरहेको सर्प यज्ञ बन्द गराए, बाँकी भएका सर्प बँचे ।

नाग सर्पसम्बन्धी यस्ता यस्ता कथा पुराणहरूमा वर्णन छन् । सो सबै उल्लेख गर्न यो सीमित लेखमा सम्भव छैन । यस्ता यस्ता सन्दर्भ श्रुति, जनविश्वास, किंवदन्ती तथा टड्कारो परिस्थिति, पौराणिक, ऐतिहासिक प्रत्यक्ष आधारमा नाग र मानव जातिको सांस्कृतिक अनुसन्धान र चर्चाले इतिहास र भूगोलका संस्कृतिलाई नै व्यापक रूपमा उजागर गरेको बुझ्न सकिन्छ । सारांशमा जो जसले नागपञ्चमी तिथिको दिनमा पूजाआजा श्रद्धापूर्वक गरिन्छ त्यसलाई नै सामान्यत धर्म भनिएको छ । वास्तवमा त्यो दिनमा गरिएको श्राद्ध चाहिँ पौराणिक संस्कारको सुरक्षा गर्ने एउटा प्रक्रिया हुन सक्छ । नाग तथा सर्पलाई विकसित देशहरूमा सुरक्षित राखिए पनि कुनै ठाउँमा यसलाई मारिएको पनि छ ।

सर्पदंशबाट धेरै मानिसहरू पीडित भएका खबरहरू सुनिएकै छन् । यिनीहरूबाट सुरक्षित हुनको खातिर अथवा प्रकृतिले जन्माएका प्राणीहरू मात्रको संरक्षणले पृथ्वीमा वातावरण पर्यावरणको संरक्षण हुन सकोस् भन्ने हेतुले पनि नागपञ्चमी पर्वले ठूलो महत्त्व राख्दछ ।

नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ।

नाग पञ्चमीको विशेषता

आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।

नाग पञ्चमीमा व्रतको विधि

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।

मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ। पश्चिम नेपालका अधिकांश जस्तै:- दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई रहेको छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ। यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ। नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।

मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
नागमन्त्र पाठ गर्न असम्भव भए ‘ॐ कुरुकुल्ये हुँ फट स्वाहा’ मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।

नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विधाहे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ। आज यी सम्पूर्ण कृत्य गर्न सक्दा ‘कालसर्प योग’ दोषको शान्ति पनि हुन्छ।

के नाग पूजा गर्नाले सर्प भए हुदैनत ?

हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ। यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ। यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न भन्य छ। यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन भदौ तिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्। मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन। यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य कुरा १००% सत्य मानिन्छ।

पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?

पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन ब्राह्मणले कागजमा विभिन्न नागहरू जस्तै:- बासुकी नाग, तक्षक नाग, कर्कट नाग, पद्म नाग, कालिय नाग, शेष नाग इत्यादी नागहरूका चित्र हातले अथवा छाप (स्टैम्प)मा छापेर यजमानका घर घरमा बाँड्दछन्। यसरी नागका चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन्। साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ। नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र

“अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥”

घरको जग खन्दा नागको शिर विचार
नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। भाद्र, आश्विन र कार्तिकमा पूर्व। मंसिर, पुष र माघमा दक्षिण। फागुन, चैत्र र वैसाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ।

कालसर्प योगको कारण र त्यसको निवारण

ज्योतिषमा योगको महत्व हुन्छ। ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ। ती नराम्रा मध्येको २ स्थानमा रहेको योग हो कालसर्प योग जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फफलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ।

के हो कालसर्प योग ?

मानिसको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो। अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हुन्छन् तब यस्तो योगको निर्माण हुन्छ। यसको निवारण गर्न निम्न उपाय अपनाउन सकिने ज्योतिषहरूको तर्क छ:

१- त्रिपिण्डी श्राद्ध : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजीकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ।

२- मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।

३- नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।
कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन। अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन्।तर सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ। दिब्य बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah