चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली बलियो बन्दै गएका छन् । अहिले वडा नम्बर २८ को मतगणना चलिरहेको छ । ताजा अवस्थामा देवीले माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालभन्दा दुई हजार चार सय ८० मतको अग्रता हासिल गरेका छन् । देवीलाई २२ हजार तीन सय ४८ र रेणुलाई १९ हजार आठ सय ६८ मत आएको छ ।
पछिल्लो समय देवीले अग्रता बढाउँदै लगेको देखिन्छ । एमालेको प्रभाव रहेको वडामा अहिले मतगणना चलिरहेकाले एमाले उम्मेदवारको मतान्तर बढी देखिएको तर, यो क्रम कांग्रेस–माओवादी प्रभाव रहेको वडामा पुगेपछि अन्त्य हुने माओवादी नेताको भनाइ छ ।
पछिल्लो पटक गणना भएको ११ नम्बर वडामा एमालेकै वडाअध्यक्ष निर्वाचित भएका थिए । अहिले गणना भइरहेको २८ नम्बर वडाको प्रारम्भिक नतिजाले पनि एमालेलाई अगाडि देखाएको छ । ६ सय मत गणना हुँदा एमाले उम्मेदवारले एक सय ७८ र कांग्रेस उम्मेदवारले एक सय ७५ मत पाएका छन् । माओवादी र राप्रपाले समान ७५ मत पाएका छन् ।



