चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लालमणि चौधरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९ सय ८४ मतले पछि पार्दै लालमणि विजयी हुनुभएको हो । लालमणिले १० हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ भने राजेन्द्र चौधरीले ९ हजार ७ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी हुनुभयो । थपलियाले १० हजार ४ सय ५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १ सय ४७ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९ सय २० मत प्राप्त गर्नुभएको छ । खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली काँग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ भने वडा नं २, ३, ४, १२ र १३ वडामा काँग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



