डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणको विश्वव्यापी महामारीले अहिले संसार एकाकार भएको छ । पृथ्वीको हरेक ठाउँमा बस्ने मान्छेहरुको सोच, अनुभव र अनुभूति एकै विषयमा केन्द्रित भएको छ । हाम्रा पीडा एकाकार भएका छन् । हाम्रा दैनिकी उस्तै रुपमा प्रभावित भएका छन्, हाम्रा आँखाहरुले खोपको क्षितिज नियालिरहेका छन् ।

कोरोना संक्रमणले करोडौं व्यक्तिको शरीरमा असर गरेको छ भने अर्बाैं व्यक्तिको मनमा असर गरिरहेको छ । घाँटी खसखस पोहोर साल पनि गथ्र्यो, रुघाखोकी पोहोरसाल पनि लाग्थ्यो, ज्वरो पोहोर साल पनि आउँथ्यो, सास फेर्न गाह्रो पोहोरसाल पनि हुन्थ्यो तर यसपटक हरेक लक्षणमा हामीले कोरोना संक्रमणलाई जोडेर हेर्ने गरेका छौं । यसैलाई मनोसमस्याको शारीरिक लक्षण भनेर मनोविज्ञानले भन्दछ ।

त्यति मात्र हैन, हाम्रो गाउँ तथा टोलमा अमुक व्यक्तिलाई कोरोना संक्रमण भयो रे ! भनेर सुन्नेबित्तिकै हाम्रा हातखुट्टा लुला हुन्छन्, हामीलाई सास फेर्न गाह्रो होला जस्तो लाग्छ अनि घाँटी चिलाउन शुरु गर्छ । यी लक्षण केवल हाम्रा अनुभूति हुन्, वास्तविक लक्षण हैनन् ।

सानोतिनो रोगको प्रकोप हामीले हरेक साल भोगेका थियौं । डेंगी, टाइफाइड ज्वरो, झाडापखाला, हैजा, स्वाइन फ्लु, बर्ड फ्लु आदि । हाम्रा दुर्गम गाउँहरुमा हरेक साल अज्ञात रोगको कारण मृत्यु भइरहेका थिए । हार्ट एट्याक, ब्रेन हेमरेज, किड्नी फेल, दुर्घटना आदिको कारण प्रत्येक वर्ष मृत्यु भइरहेको हो । ती अप्ठ्यारा समयमा हामी रोगको कारण चिन्तित भएका थिएनौं ।

कोरोना संक्रमण विश्वव्यापी महामारी भएको, विकसित देशमा धेरैजनाको मृत्यु भएको तथा कोरोना संक्रमणलाई कालको रुपमा प्रचार गरिएको कारण हामी धेरै चिन्तित भएका छौं । १० प्रतिशत मृत्युदर भएको सार्स, ३० प्रतिशत मृत्युदर भएको मर्स तथा ५१ प्रतिशत मृत्युदर भएको इबोला रोगको महामारी सीमित देशमा भएकोले हामीले त्यसको चासो राखेनौं तर नेपालमा हालसम्म ०.३ प्रतिशत मात्र मृत्युदर भएको कोरोना संक्रमणको कारण हामी रातदिन चिन्तित भएका छौं ।

रोगको कारणले भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडियाको कारण हामी धेरै आत्तिएका छौं । कोरोना भाइरस निकै कमजोर भाइरस हो । यो ६ महिनामा कोरोना संक्रमणका कारण नेपालमा जम्मा एकसयको हाराहारीमा मृत्यु भएको छ । मृत्युलाई विश्लेषण गर्ने हो भने अधिकांश मृतकको पहिले नै मुटु, कलेजो, फोक्सो, मृगौला आदि खराब भएको तथा क्यान्सरको अन्तिम स्टेजका व्यक्तिको मृत्यु भएको छ ।प्राणीजगत्को जन्म, वृद्धि, क्षय र मृत्यु परापूर्वकालदेखि भइरहेको छ र भइरहनेछ । तसर्थ जीवनका यी प्रक्रियालाई हामीले आत्मसात् गर्नु जरुरी छ ।

कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण भएको छ कि छैन भनेर हाम्रो विवेकले पनि परीक्षण गर्न सक्नुपर्छ । यदि कुनै व्यक्ति संक्रमित देश वा ठाउँबाट आएको छ वा उक्त व्यक्तिसँग हाम्रो असुरक्षित रुपमा संसर्ग भएको छ तथा हामीलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने, अत्यन्तै कमजोर अनुभव हुने तथा स्वाद र गन्ध हराउने जस्ता लक्षण देखिएका छन् भने हामीले कोरोना संक्रमणको शंका गर्न सकिन्छ ।

अन्य रोगसँग त्यति नमिल्ने लक्षण जस्तै– स्वाद र गन्ध हराउने लक्षण देखा प¥यो भने हामीले कोरोना संक्रमणको शंका गर्नुपर्ने हुन्छ । यी संयोग र लक्षण देखिएमा नजिकको प्रयोगशालामा गएर हामीले पीसीआर जाँच गर्नुपर्दछ ।

परीक्षणबाट कोरोना संक्रमण देखियो भने पनि हामी डराउनुपर्दैन । कोरोना संक्रमण भयो भने मृत्यु हुन्छ भन्ने धारणा अत्यन्तै गलत बुझाइ हो । ८० प्रतिशत संक्रमितलाई सामान्य लक्षण देखिएर आफैं निको हुन्छ । १० प्रतिशत बिरामीलाई लाक्षणिक उपचार जस्तै– ज्वरोको लागि पारासिटामोल, खोकीको लागि कफ सिरप, सास फेर्न गाह्रो भए रोटाक्याप, नेबुलाइजर वा अक्सिजन, पखाला लागेमा त्यसको उपचार आदि गरेर निको हुन्छ । बाँकी १० प्रतिशतमध्ये ५ प्रतिशतलाई अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने हुन्छ । बाँकी ५ प्रतिशतलाई आईसीयु, अक्सिजन सपोर्ट वा भेन्टिलेटर आवश्यक पर्न सक्छ । ती मध्ये १ देखि ३ प्रतिशतको निधन हुनसक्छ । यसरी निधन हुने प्रायः जोखिम वर्गका व्यक्ति हुन्छन् ।

खास गरेर वृद्धवृद्धा, मुटु, फोक्सो, मृगौला, कलेजो आदिमा दीर्घ समस्या भएका व्यक्ति जोखिम वर्गमा पर्दछन् । हामीकहाँ समय–समयमा स्वास्थ्य परीक्षण गर्ने बानी छैन । जन्मजात मधुमेह, मृगौलाको समस्या, मुटुको रोग भएका व्यक्ति, युवा अवस्थामा वंशाणुगत मधुमेह, उच्च रक्तचाप तथा अटो इम्युन डिजिज भएका व्यक्ति पनि हरेक देशमा हुन्छन् । तसर्थ त्यस्ता व्यक्ति उमेर कम भए पनि जोखिम वर्गमा पर्दछन् । हामीले नियमित स्वास्थ्य परीक्षण गरेर हाम्रा समस्यालाई उपचार गरी नियन्त्रणमा राख्ने हो भने दीर्घरोग हुँदैमा जोखिम हुँदैन, ज्येष्ठ नागरिक हुँदैमा जोखिम हुँदैन ।

कोरोना संक्रमण आफैं हुँदैन । सकभर घरमा बस्ने, घरबाहिर जानुप¥यो भने सही तरिकाले नाक–मुख छोप्ने गरी अनिवार्य मास्क लगाउने, हरेक ठाउँमा ६ फिटको भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, जहाँ पायो त्यहाँ नछुने, आफ्नो अनुहारमा छुने बानी हटाउने, नियमितरुपमा साबुन–पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, जथाभावी नथुक्ने तथा भेन्टिलेसन भएको खुला ठाउँमा बस्ने ग¥यौं भने हामीलाई कोरोना संक्रमण सर्दैन । रोग आफूलाई सार्ने कि नसार्ने भन्ने कुरा हाम्रो बानी, व्यवहार र गतिविधिमा भर पर्दछ ।

दैनिक पोषिलो तथा झोलिलो खाना खाने, दिनको १ घण्टा व्यायाम गर्ने, प्रत्येक दिन २० मिनेट घाम ताप्ने, राति ८–९ घण्टा सुत्ने, सफा हावा भएको ठाउँमा अनुलोम–विलोम वा प्राणायाम गर्ने, योग तथा ध्यान गर्ने अनि मानसिक चिन्ता तथा तनावलाई व्यवस्थापन गर्ने हो भने हाम्रो इम्युनिटी पावर बढ्छ । त्यस्तै गुर्जो, अश्वगन्धा, अदुवा, बेसार, तुलसी, कागती मिलाएको चिया दिनको २ पटक खाने, खानामा विभिन्न घरेलु तथा अर्गानिक मरमसलाको प्रयोग गर्ने एवं दीर्घबिरामीले भिटामिन ‘सी’, ‘भिटामिन डी’, जिंक, भिटामिन ‘बी१२’ चिकित्सकको सल्लाह लिएर नियमित सेवन गरेमा रोग–प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

त्यस्तै दीर्घरोगका बिरामीले समय–समयमा स्वास्थ्य परीक्षण गर्ने, आफूले खाइरहेको औषधि नछोड्ने तथा गाह्रो भएमा तुरुन्त अस्पताल गएर आफूलाई तन्दुरुस्त राख्नु जरुरी छ । बालबालिकालाई नियमित खोप दिने, गर्भवतीलाई अस्पतालमा सुरक्षितरुपमा प्रसव गराउने तथा मानसिक रोगको उपचार गरिरहेका व्यक्तिले मनोपरामर्श तथा औषधि सेवनलाई निरन्तरता दिनुपर्दछ । यसरी हामीले कोरोना संक्रमणबाट हुने जोखिमलाई थप न्यूनीकरण गर्न सकिन्छ ।

इटलीलगायत केही युरोपियन देशहरु, न्युयोर्क, लन्डन आदि ठाउँमा कोरोना संक्रमणको महामारी पैलिएको बेला त्यहाँ मास्क, पीपीई, भेन्टिलेटरजस्ता अत्यावश्यक सुरक्षा सामग्रीको चरम अभाव थियो । क्वारेन्टिन, आइसोलेसन तथा परीक्षणको पहुँच न्यून थियो । कुन औषधिले काम गर्छ भन्ने थाहा थिएन । अचानक हजारौं बिरामी अस्पतालमा जाँदा स्वास्थ्यकर्मी तथा अन्य रोगका बिरामीहरु संक्रमित भए । उपचार तथा स्याहार नपाएर धेरै ज्येष्ठ नागरिकको मृत्यु भयो । अस्पतालले धान्न नसक्दा धेरै बिरामीको आत्तिएर हार्ट एट्याकसमेत भयो । अहिले विश्वमा त्यो परिस्थिति छैन ।

नेपालमा पनि परीक्षणको दायरा वृद्धि, क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था, सुरक्षासामग्रीको सुलभता, स्वास्थ्यकर्मीको अनुभव, उपचारको प्रभावकारिता आदि कारणले गर्दा भोलि त्यो परिस्थिति हामीले भोग्नुपर्ने छैन । महामारीको समयमा सजिलो परिस्थिति पक्कै पनि हुँदैन । संक्रमणको डर, आयआर्जनको कमी, व्यापारमा घाटा, घरभाडा तथा बैंक ब्याजको तनाव आदिको कारण हामी तनावको अवस्थामा छौं । विपत्ति तथा महामारीको समयमा यस्तो परिस्थिति आउँछ भन्ने आत्मसात् गरेर हामीले तनावलाई व्यवस्थापन गर्नु जरुरी छ ।

यो अवस्था सधैँ रहँदैन । यो महामारीको अन्त्यसँगै हाम्रो जीवन पूर्ववत् चल्नेछ । तसर्थ हामीले आफूलाई मानसिकरुपमा बलियो बनाउनु जरुरी छ । हामी मानसिकरुपमा स्वस्थ भयौं भने शारीरिकरुपमा पनि स्वस्थ हुन्छौं । मन र शरीर स्वस्थ भयो भने सामाजिकरुपमा पनि हामी स्वस्थ हुन्छौं । तसर्थ हाम्रो जीवनको जरा अर्थात् मानसिक स्वास्थ्यलाई बलियो बनाउनु पहिलो कर्तव्य हो । स्वस्थ तन र प्रसन्न मन नै सुखको मुहान हो ।

कोरोना संक्रमणको अवधि जति लामो हुँदैछ, यसको उपचार र रोकथामको लागि प्रभावकारी उपायहरुको खोजी भइरहेको छ । पहिले मलेरिया, एचाईभी÷एड्स आदिको औषधिलाई कोरोना संक्रमणको उपचारमा प्रयोग गरिएको थियो । अहिले कोभिड–१९उपचारको लागि रेमडेसेभिर लगायतका औषधि तथा प्लाज्मा थेरापीप्रभावकारी देखिएका छन् । कोरोना भाइरसविरुद्धको खोप निर्माण गर्न संसारका १६० वटा ल्याब सक्रिय छन् । ती मध्ये २३ वटा ल्याबले क्लिनिकल फेजमा प्रवेश गरेका छन् भने बेलायत, अमेरिका, जर्मनी, चीन तथा रुसका ६ वटा ल्याब अन्तिम चरणको परीक्षणमा पुगेका छन् ।

ती मध्ये केहीदेशले ३ महिनाभित्र खोप ल्याउने दाबी गरेका छन् । हरेक खोप कम्पनीले अर्बौं डोज खोप उत्पादन गर्ने बताएका छन् । उक्त खोपलाई गाभी भन्ने संस्थाले अल्पविकसित ९२ मुलुकमा निःशुल्क वा अत्यन्तै सस्तो दरमा उपलब्ध गराउँछ । नेपाल पनि गाभीको सदस्य हो । विश्व बजारमा खोप आएसँगै गाभी तथा खोप उत्पादक देशबाट हामीले पनि खोप पाउनेछौं । खोप आएपछि विश्वले कोरोना संक्रमणको महामारीबाट मुक्ति पाउनेछ । त्यो बेलासम्म हामीले अनुशासित भएर, आत्मबल बढाएर तथा सुरक्षालाई पहिलो प्राथमिकता दिएर आफ्ना गतिविधि सञ्चालन गर्नु जरुरी छ ।

(लेखक डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah