भरतपुर महानगरपालिकाको मत लगभग अाधा गनिसक्दा पनि यहाँ को मेयर बन्छ भन्ने अझै निश्चित भइसकेको छैन। एमालेका देवी ज्ञवाली र कांग्रेस-माअोवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। अन्तिम मतपरिणाम ज्ञवाली वा दाहाल कसका पक्षमा जान्छ भन्नेमा सबैका आ-आफ्नै विश्लेषण छन्। हामीले स्वयं उम्मेदवारहरुलाई सोध्यौं- के तपाईंले जित्नुहुन्छ? कसरी?

पढ्नुहोस आज एमाले उम्मेदवार देवी ज्ञवालीको विश्लेषण:

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ज्ञवालीले आफूले जित्ने निश्चित भएको बताए। कांग्रेसको समर्थन नपाएको भए रेणुको भोट यति धेरै नआउने उनले बताए। भरतपुर महानगरमा नेपाली कांग्रेस र माअोवादी केन्द्रबीच चुनावी तालमेल छ। कांग्रेसले मेयरमा रेणुलाई सघाएको छ भने माअोवादीले कांग्रेसलाई उपमेयरमा सघाएको छ।

'यहाँ हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो,' उनले भने, 'कांग्रेस र माओवादीको तालमेल नभएको भए कांग्रेस पनि मेरो लागि 'आच्छिउँ खाएँ बाच्छिउँ खाएँ झुसे बारुला' हुन्थ्यो। मैले घरै बसी बसी चुनाव जित्थेँ।' 'हिजो द्वन्द्वमा माओवादीले हातखुट्टा भाँच्नेदेखि विस्थापित हुन बाध्य पारेका घटना कतिपय कांग्रेसजनले अझै बिर्सेका छैनन्, त्यही पार्टीका उम्मेदवारलाई उनीहरुले कसरी भोट दिन सक्थे?' ज्ञवालीले भने, 'कांग्रेसका तल्लो तहका क्याडरलाई यो तालमेल चित्तै बुझेको छैन।'

आफूलाई माया गरेर पनि जनताले धेरै मत दिएको उनको भनाइ छ। 'मैले यो ठाउँमा ४० वर्ष काम गरेको छु, जनताका सुखदु:ख बुझेको छु, त्यसैले पनि मलाई धेरै भोट आएको हो। यो स्थानीय चुनाव भएकाले जनताले आफ्नो नजिकको मानिसलाई भोट हाल्छन्,' उनले भने, 'रेणु दहाल स्थानीय स्तरमा परिचित र यहाँका जनताको सुखदु:ख बुझेको मानिस होइन।' २०५४ सालको स्थानीय निर्वाचनमै एमालेका तर्फबाट उपमेयर बनेका ज्ञवालीले आफू मतदातासँग निरन्तर भिजेकाले आफूले यहाँ सहजै जित हासिल पार्ने बताए।सेतोपाटीमा आधारित