काठमाण्डौ – औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । बजारमा मापदण्ड वितरीतका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न विभागले अपिल गरेको हो ।

अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बिक्री वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले अपिल गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । विभागमा दर्ता भए\नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने ढकालले बताउनुभयो ।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ । विभागले मिथानोल जस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

गएकाे हप्ता पाँच र हिजो मङ्गलबार मात्रै थप चार वटा कम्पनीका सरोकारवालाका नाममा उत्पादन र बिक्री वितरण नगर्न सूचना जारी गरिएको महानिर्देशक ढकालले बताउनुभयो । मिथानोल जस्ता विषाक्त पदार्थ प्रयोग गरी उत्पादन गरेको र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार उत्पादन नभएको स्यानिटाइजरमाथि प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।

विभागले प्रतिबन्ध लगाएका नेपालमै उत्पादन हुने र विदेशबाट आयात हुने स्यानिटाइजर पनि छन् । विभागले ग्वान्झाओ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इण्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाण्डाैलगायतका स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको हो ।