– सुधा देवकोटा
विश्वभर फैलिएको कोरोना भाईरसको महामारीको कारण विश्व अर्थव्यवस्था नै डगमगाएको अवस्थामा नेपालको अर्थतन्त्र पनि अस्तव्यस्त अवस्थामा पुगेको छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणको उपायका रुपमा लागु गरेको बन्दाबन्दीले व्यापार व्यावसाय सँगै आर्थिक क्षेत्रमा स्थापित सहकारी संस्थाहरुले पनि ठूलै नोक्सानी बेहोर्नु परेकोछ ।
यद्यपि, यस्तो विषम परिस्थितिमा पनि आफ्नो सामथ्र्यको सिमालाई तन्काएर सहयोग गर्ने मनकारी संघ सस्थाहरुको रुपमा नेपालका सहकारी सस्थाहरु देखिए । सहकारी संस्थाहरुले आफ्नाे क्षेत्र विशेष, स्थानीय, प्रदेश र संघीय सरकारसँगको समन्वयमा निरन्तर सहयोग गर्दै आएका छन् ।
सरकारकै परिपूरक ठानिने स्वायत्त संस्था सहकारी संस्थाहरुले आफ्नो कार्यालय स्थापना भएको क्षेत्रका कोरोनाले प्रभावित स्थानीयहरुलाई धेर–थोर सहयोगको हात बढाएको पाईएको छ । यो मुस्किल घडीमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सहकारी संस्थाहरुले आर्थिक तथा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको सहकारीहरुले बताएका छन् ।
मुलुकमा भएको ६ महिना लामो बन्दाबन्दी समयमा सहकारीहरुले धेरै नेक्सानी बेहोर्नुपरेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीन राज कँडेलले बताए । यद्यपि सहकारीहरुले आफ्नो क्षमता र गच्छे अनुसारको सहयोगमा कुनै कञ्जुस्याँई नगरेको अध्यक्ष कँडेलको भनाई छ ।
कोभिड–१९ को महामारीमा सरकारको उलेख्य रुपमा हातेमालो गर्दै अगाडि बढेको कँडेलले जानकारी गराए । यो विपदसँग लड्न सरकारलाई करिब १२ सय भन्दा बढी सहकारी सस्थाहरुले स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई १० करोड भन्दा बढी सहयोग पुर्याएको महासंघका अध्यक्ष कँडेले जानकारी गराए ।
त्यसैगरी, राष्ट्रिय सहकारी संघ दिवसको सन्द्र्भमा सहकारी द्वारा सञ्चालित नेपाल स्वास्थ्य सेवा सहकारीले मनमोहन हस्पिटलमा २५ लाख रुपैयाँ बराबरको कोरोना परिक्षण गर्ने समाग्री देखि लिएर अन्य स्वास्थ्य सामाग्री खरिद गर्न सहयोग रकम समेत उपलब्ध गराएको कँडेलको भनाई छ ।
उनले भने, भापा जिल्लामा सहकारी, नागरिक समाज र सरकारी समन्वयमा कोरोना परिक्षण (पिसिआर टेस्ट) गर्ने ल्याबको निमार्ण गरिएको छ । परिक्षण ल्याब निमार्ण पुरा भएपछि उक्त क्षेत्रका स्थानीहरुलाई कोरोना भाईरस संक्रमण भए नभएको परिक्षण गर्नको लागि सहज भएको छ ।
कोभिड १९ नियन्त्रणको लागि गरिएको लकडाउन र निषेधज्ञाका कारण सहकारी क्षेत्रमा धेरै ठूलो प्रभाव परेको बताउँदै कृषक र कृषि सहकारीहरुले धेरै ठूलो नोक्सानी व्यहोर्नु परेको कँडेलको भनाई छ । विषेश गरी कृषकहरुले उत्पादन गरेको तरकारीहरु बजारसम्म पुर्याउन नपाउदा ठूलो क्षती व्यर्होनु पर्याे । लकडाउनको अवधिमा कृषकले उत्पादन गरेको वस्तुले मूल्य नपाई वारी मै बिग्रेर खेरजादा कृषकहरुले धेरै नोक्सानी व्यहोनु परेको उनले बताए । यसलाई सम्बोधन गर्न, विभिन्न स्थानमा रहेका सहकारी संस्थाहरुले ढुवानीको व्यवस्था गरी कृषकका उपजहरु, फलफुल र तरकारीलाई बजार सम्म पुर्याउन सहयोग गरेको उनले बताए ।
नेपाल कृषि सहकारी केन्द्रिय संघले भुमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय र आपूर्ती मन्त्रालसँगको समन्वयमा उपत्यका वरिपरी रहेका जिल्लाहरुबाट ठूलै परिणममा फलफुल तथा तरकारीहरु सप्लाई गरेर बजारसम्म ल्याउने व्यवस्था गरेको कँडेलले बताए । भक्तपुर र ललितपुरका कृषि सहकारी संघहरुले किसानहरुको खेत बारिमै गएर तरकारी खरिद गरी उपत्यकाका बजारसम्म पुर्याई बिक्री बितरण गर्ने कार्यले कृषक देखि उपभोक्ता समेतलाई राहत पुर्याएको दखियो ।
प्रदेश १ बिराटनगरमा उत्पादन भएको करिब एक हजार ट्रक खेरजान लागेको टमाटर जिल्ला सहकारी मोरङ संघले प्रदेश सरकारसँग समन्वय गरेर कृषकसँग १२ रुपैयाँमा किनिदिएर १५ रुपैयाँ प्रति केजी बिक्री गरेर कृषकलाई राहत दिने काम भएको उनको भनाई छ ।
प्रदेश नम्बर ५ मान्त्री भुमि व्यवस्था तथा सहकारी मन्त्री,सहकारीसंघहरुसँग समन्वय गरेर कृषि एम्बुलेस बनाएर जिल्लाका फलफुल तथा तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउदा ठूलो मदत पुगेको कँडेलले बताए ।
दुग्ध सहकारीहरुले कृषकको दूध संकलन गरी प्रशोधन गर्दै बजारसम्म पुर्याउन मदत गरेको छ । उपभोक्ता सहकारीहरुले सुलभ पसलहरु सञ्चालन गर्दै र सञ्चार सहकारीहरुले सचेतनामूलक सूचना आदान प्रदान गरेर योगदान पुर्याएको कँडेलले जानकारी गराए । जसले गर्दा अभावका कारण आकासिएको बजार मूल्यलाई सहज आपुर्तिको माध्यमबाट नियन्त्रण गर्नको योगदान पुगेको उनको विश्वास छ ।
त्यस्तै बचत तथा ऋण सहकारीहरुले वित्तीय परिचालन र आर्थिक सहायताका कार्यक्रम अघि बढाएका आफ्ना सदस्यहरुलाई सहयो पुयाए । महामारीको समयमा आफ्ना सदस्यहरुका लागि व्याज, हजर्ना लगायतको छुट दिएको बताएका छन् ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङले यो महाबिपदको समय अवधी भर आफ्ना सदस्यहरुलाई हर्जना छुटको व्यवस्था गरेको बताए । सहकारीका सदस्यहरुले असार मसान्तमा ब्याज तिर्ने सदस्यहरुलाई १० प्रतिशतसम्म ब्याज छुटको दिनुका साथै कोरोनाबाट प्रभावित सदस्यहरुलाई व्यवसाय प्रवर्दन गर्नको लागि १० लाखसम्म रुपैयाँ सम्मको ऋण मात्र ९.९९ प्रतिशत व्याजमा उपलब्ध गराउदै आएको गुरुङको भनाई छ ।
त्यसैगरी, उक्त सहकारीका सदस्यहरुलाई एक लाख रुपैयाँसम्मको कोरोनाको बीमा गर्दा प्रिमियम शूल्कको २५ प्रतिशत रकम सहकारी संस्थाले व्यहोरी दिने समेत व्यवस्था गरेको अध्यक्ष गुरुङको भनाई छ ।
काभ्रेको बनेपामा स्थित विन्धवासिनी बचत तथा सहकारी संस्थाले पनि अप्ठेरेरो परिस्थितीमा आफ्ना सदस्य र समुदायहरुलाई आफ्नो तर्फबाट रचनात्मक सहयोग पुर्याउँदै आएको जानकारी गराएकोछ । सहकारीले १० देखि १५ प्रतिशतसम्म ब्याज छुट दिएको सहकारीका म्यानेजर के.बी. लामाले जानकारी गराए । गत आर्थिक वर्षमा विन्धवासिनीको एक करोड ३० लाख ५५ हजार रुपैयाँ जती व्याज छुटमा खर्च भएको लामाको भनाई छ।पैत्तिस हजार सदस्य भएको यस विन्धवासिनी सहकारीले प्रत्येक वडालाई एक सदस्य बराबर एक रुपैयाको सहयाेग संकलन गरी १० वटा वडालाई ३५ हजार रुपैयाँको दरले नगद सहयोग गरेको मेनेजर लामाले जानकारी गराए ।
विन्धवासिनी सहकारीले जिल्ला प्रशासनको विपद व्यवस्थानलाई पिपिई सामग्रीहरुको सहयोग तथा आफ्नो कार्यालय भएको वडाका सूत्केरीहरुलाई पौष्टिक खाने कुराहरु समेत वितरण गरेकोछ । यसका अतिरिक्त, पनौती नगरपालिकामा खाद्य बैंक सञ्चालको लागि सहकारीको तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गरेको लामाले बताए ।



