काठमाडौं, ९ असोज । डिजेल र पेट्रोलको आयातलाई उछिन्दै दुई महिनाको अवधिमा सबैभन्दा बढी मोबाइल सेट आएको छ । आर्थिक वर्ष ०७७–७८ को पहिलो दुई महिनामा २० अर्ब ४४ लाख रुपैयाँको सामान आयात भएको भन्सार विभागको तथ्यांक छ ।

त्यसमा सबैभन्दा बढी ७ अर्ब ९४ करोड रुपैयाँको मोबाइल रहेको विभागले जनाएको छ । यो डिजेल आयात भएको रकमभन्दा बढी हो । भन्सारको विवरणअनुसार दुई महिनामा ५ अर्ब ५ करोड रुपैयाँको डिजेल आएको छ ।

‘विगतमा मोबाइल सेटको आयात १० नम्बरभित्र पनि परेको थिएन । आयातमा पहिलो नम्बरमा डिजेल हुन्थ्यो,’ विभागका एक अधिकारीले भने, ‘तर चालु आर्थिक वर्षको पहिलो दुई महिनामा डिजेललाई मोबाइलले उछिन्यो । डिजेलको आयात दोस्रो नम्बरमा देखियो ।’

कोभिडका कारण सरकारले लकडाउन गरेपछि मोबाइल आयात हुन सकेन । लकडाउन खुकुलो भएसँगै यसको माग बढ्यो । तर अन्तर्राष्ट्रिय उडान भएनन् । सवारीसाधन पनि चलेनन् ।

कोरोना संक्रमण रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेको थियो । त्यसले समग्र व्यापार व्यवसाय तहसनहस भयो । लकडाउनका बेला अत्यावश्यक वस्तुबाहेक अन्य सामग्रीको आयात सहज बनेन । बैंक, भन्सार कार्यालय र बन्दरगाहमा पर्याप्त कर्मचारी थिएनन् । लकडाउन खुकुलो बनाए पनि विभिन्न ठाउँमा निषेधाज्ञाले व्यवसायीलाई सामान आयात गर्न सहज थिएन । अहिले निषेधाज्ञा खुलेसँगै केही चहलपहल बढेको व्यवसायी बताउँछन् ।

विभागका अनुसार आर्थिक वर्ष ०७६–७७ को पहिलो दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँको मोबाइल सेट आयात भएको थियो । वर्षभर १८ अर्ब १७ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांक छ ।

डिजेलपछि खाना पकाउने एलपी ग्यास र पेट्रोल आयातमा ३ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ । ३ अर्ब ४० करोड रुपैयाँको पेट्रोल र १८ करोड रुपैयाँको हवाई इन्धन आयात भएको छ । ‘ग्रुपअनुसार होइन, प्रोडक्टमा हेर्दा मोबाइल सेट नै पहिलो नम्बरमा आयात भएको छ,’ ती अधिकारीले भने ।

निर्यातमा भने सबैभन्दा भटमासको तेल अगाडि छ । दुई महिनाको अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँको तेल निर्यात भएको छ । भटमास भारत निर्यात हुन्छ । यस्तै प्रशोधित पाम तेलको निर्यात पनि उत्साहजनक थियो । पाम तेलको बजार पनि भारत नै हो । पछिल्लो समय भारतले बन्देज लगाएको विभागले जनाएको छ ।

२० अर्बको निर्यात हुँदा पौने दुई खर्बको आयात

२० अर्ब रुपैयाँको निर्यात हुँदा १ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । गत वर्षको तुलनामा वैदेशिक व्यापार पनि खुम्चिएको छ । ०७६–७७ को पहिलो दुई महिनामा वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रुपैयाँ भएको भन्सार विभागको तथ्यांक छ । ०७७–७८ को दुई महिनामा वैदेशिक व्यापार १९.६४ प्रतिशतले खुम्चिएर १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँमा झरेको छ ।

आयात पनि २२ प्रतिशत घटेर १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । ०७६–७७ को दुई महिनामा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको आयात भएको थियो । निर्यातमा भने साढे १० प्रतिशतले बढेको विभागको तथ्यांक छ । ०७७–७८ को दुई महिनामा २० अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको पहिलो दुई महिनामा १८ अर्ब ५० करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । व्यापार घाटा करिब २५ प्रतिशत घटेको छ ।

०७६–७७ को दुई महिनामा २ खर्ब ११ अर्ब रुपैयाँ घाटा रहेकामा ०७७–७८ मा घाटा घटेर १ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ । ‘दुई महिनामा निर्यात बढेको छ, आयात घटेको छ । यो देशका लागि राम्रो हो । पछिल्लो समय राजस्व उठ्न थालेको छ । चाडबाडका लागि सामान आयात हुन थालेको छ,’ ती अधिकारीले भने, ‘यसले आयात वृद्धि भइरहेको देखाउँछ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय