काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन् ।
नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले ७६ लाख शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् ।
कम्पनीका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले भने, ‘तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कानुनअनुसार कडा कारबाही गर्छ ।’
नेप्सेमा समावेश भएका कम्पनीको सेयर/डिवेन्चर सूचीकृत भई वित्तीय मध्यस्तकर्तामार्फत कारोबार हुँदै आएका कम्पनीले धितोपत्र कारोबार नियमावली, २०५० को अनुुसूची–९ बमोजिम वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
नियमअनुसार एक करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले १५ हजार नवीकरण शुल्क बुझाउनुपर्छ ।
त्यसैगरी एक करोडदेखि पाँच करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले २५ हजार, पाँच करोडदेखि १० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले ३५ हजार र १० करोडदेखिमाथि चुक्ता पुँजी भएका कम्पनीले ५० हजार वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ । रासस



