नवजात शिशुलाई आमाको दूध अमृत समान मानिन्छ । त्यसैले शिशु ६ महिनासम्मको हुदाँ आमाको दूध मात्र सेवन गराउन चिकित्सक सुझाउछन् ।
आमाको दूधलाई पोषण मात्र नभई जीवनको आधार मानिन्छ । तर पछिल्लो पुस्ताका कतिपय आमाहरु बढ्दो आधुनिकतामा आफ्नो बच्चालाई स्तनपान गराउदैनन् । यो केवल बच्चालाई मात्र नभई आमाका लागी समेत हानिकारक छ ।
नयाँ पुस्ताका आमाहरु शरीर बिग्रने डरमा बच्चालाई आफ्नो स्तनपान गराउदैनन् । तर चिकित्सकहरु शिशुलाई कम्तिमा जन्मेको ६ महिनासम्म स्तनपानमा नै निर्भर राख्नुपर्ने बताउँछन् । स्तानपान अभावमा बर्षेनी हजारौँ बालबालिकामा कुपोषण समस्या रहने गरेको छ । त्यसैले शिशुको जीवनका लागि आमाको दूध अति नै महत्वपूर्ण हुन्छ ।
यस्तो छ, स्तनपानको फाइदा :
१. आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा हुन्छ । २. स्तनपान शिशु अघाउने सबैभन्दा सस्तो माध्यम हो, यसका निम्ती खर्च लाग्दैन । ३. स्तनपान गराउने आमा र उनको शिशुको बिच भावनात्मक सम्बन्ध मजबुत हुन्छ । ४. केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ जहाँ आमाको दूध सुरक्षित हुन्छ । ५. स्तनपानले आमा र बच्चा दुवैलाई आत्मिय र सुरक्षित भएको अनुभूति दिन्छ । ६. कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवति हुनबाट बचाउँछ । ७. स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ । ८. आमाको दूधले शिशुको प्रतिरोधक क्षमता बढाउने गर्दछ । ९. स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ । १०. आमाको दूधको सेवनले शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ । ११. स्तनपानले बच्चालाई क्यान्सर, पखाला र निमोनियाजस्ता रोगबाट बचाउँछ । १२. स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । १३. आमाको दूधमा हुने प्राकृतिक रसायन पनि हुन्छन् यसले बच्चालाई लाभ पुर्याउँछ । १४. बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो । १५. दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ । १६. स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगहरुबाट जोगाउँछ ।










