भारतको पानीपतमा एक महिलालाई उनका पतिले डेढ वर्षसम्म शौचालयमा थुनेको अवस्थामा उद्धार गरिएको छ ।
ती ३५ वर्षीया महिलालाई तीन बाई तीन फीटको शौचालयमा १८ महिनासम्म राखिएको थियो । उनलाई प्रहरी र सामाजिक कार्यकर्ताहरूले मंगलवार उद्धार गरेका हुन् ।
पति नरेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । अमानवीय व्यवहार गरेका पतिले उनलाई कैयौं दिनसम्म खाना र पानी नदिने गरेका थिए । महिलाका तीन सन्तान छन् ।
स्थानीयहरूले महिलाको अवस्थाका बारेमा थाहा पाएपछि महिला सुरक्षा अधिकारी रजनी गुप्तालाई खबर गरेका थिए । उनले प्रहरीलाई सूचना दिइन् र उनीहरू घरको छेउमा रहेको शौचालय पुगे ।
ती महिला शौचालयको भुइँमा लडिरहेको उनीहरूले भेटे ।
‘उनी दुब्लाएर हिँड्न समेत नसक्ने भएकी थिइन्,’ गुप्ताले भनिन् । ‘हामीले उनलाई खाना दिँदा उनले आठवटा रोटी खाइन् ।’
महिलाको नाम खुलाइएको छैन । उनको विवाह १७ वर्षअघि भएको थियो । पतिले पत्नी मानसिक रोगी भएको दाबी गरे अनि उनको उपचार चलिरहेको बताए ।
तर उनले मानसिक रोगको प्रमाण दिन सकेनन् । गुप्ताले महिलासँग कुरा गर्दा मानसिक रूपमा तन्दुरुस्त पाइन् । महिलालाई पहिला अस्पताल लगियो अनि उपचारपछि बहिनीको घरमा राखिएको छ ।



