ब्राजिलमा एक महिलाको कार ट्रेनको ट्य्राकमा अड्किएपछि ट्रेन कारमा आएर ठोकिएको छ । बिहीवार बिहान बार्रा मान्सामा सीसीटीभी क्यामराको फूटेज हेर्दा फियाट कार ट्रेनको ट्य्राकमा आइपुगेर अड्किएको देखिन्छ ।
त्यतिखेर ट्रेन पनि आइरहेको थियो । कारको अगाडिको सीटबाट एक पुरुष बाहिर निस्कन्छन् र कारलाई धक्का दिँदै अगाडि बढाउन खोज्छन् । पछि एक पुरुष साइक्लिस्टले पनि कारलाई धक्का दिएर सहयोग गर्न खोज्छन् । पछि ती व्यक्तिले ट्रेनको मोटरम्यानलाई रोक्न संकेत दिन्छन् र आफू कारबाट पर भाग्छन् । कारभित्र रहेकी महिला त्यहीँ हुँदा नै ट्रेन कारमा ठोकिन पुग्छ ।
कार लगभग १६५ फीटसम्म लतारिन्छ र बल्ल ट्रेन रोकिन्छ । ब्राजिली पत्रिका जी१ का अनुसार, महिलालाई खासै चोटपटक लागेको छैन । मोटरम्यानले हर्न बजाएर पैदलयात्री र गाडीचालकहरूलाई चेतावनी दिएका थिए । उनले इमर्जेन्सी ब्रेक पनि लगाएका थिए तर ब्रेक लगाए पनि पूरै रोकिनुअघि ट्रेन आधा माइल जति अगाडि बढ्ने रेल कम्पनीको भनाइ छ ।



