काठमाडौँ — प्रहरीको साइबर ब्युरोले गत असोज २९ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–८ का २१ वर्षीय नितेश भनिने प्रवीण ढकाललाई पक्राउ गर्‍यो । सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट बाल अश्लीलता फैलाउने श्रव्यदृश्य सामग्री साथीभाइ र १८ वर्षमुनिका बालबालिकालाई पठाउने गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

ब्युरोले उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ अनुसार कसुरजन्य काम गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्युरोलाई पछिल्ला दिन बालयौन दुराचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि नेपाल जोडिएका घटनाबारे सूचना दिने गरेका छन् । प्रवीणले म्यासेन्जरमार्फत विदेशी बालबालिकाका अश्लील फोटो र भिडियो सामग्री साथीभाइ र बालबालिकालाई सेयर गरिरहेका छन् भन्ने सूचना एक अमेरिकी संस्थाबाट ब्युरोले पाएको थियो । प्रवीण पक्राउपछि प्रहरीको गरेको अनुसन्धानबाट उनले अश्लील बालयौनसम्बन्धी भिडियो र फोटोहरू विभिन्न साइटबाट डाउनलोड गर्ने र अरू बालबालिकालाई पनि पठाउने गरेको भेटियो । उनले पैसा कमाउन वा अन्तर्राष्ट्रिय बालयौन दुराचारीलाई सूचना दिन यस्तो काम गरेको नभेटिए पनि यसले बाल अश्लीलता फैलाएको उक्त घटनाको अनुसन्धान गरेका ब्युरोका एक प्रहरी अधिकारीले बताए । प्रवीण पक्राउपछि ब्युरो अनुसन्धानका क्रममा एक बालिकासम्म पुग्यो । बालिकाले आफूलाई प्रवीणले म्यासेन्जरमार्फत निरन्तर अश्लील बाल क्रियाकलापजन्य फोटो/भिडियो पठाएको बताइन् ।

साइबर अपराधका घटनामा दोषीहरू पक्राउपछि प्रेस विज्ञप्ति जारी गर्ने ब्युरोले १२ कात्तिकमा निकालेको विज्ञप्ति फरक प्रकृतिको थियो । उक्त विज्ञप्तिमा ‘विभिन्न व्यक्तिहरूको ल्यान्डलाइन र मोबाइल फोनमा अननोन वा प्राइभेट वा कुनै पनि नम्बर डिस्प्ले नहुने नम्बर वा फेक फेसबुक म्यासेन्जरबाट कल गर्ने र म साइबर क्राइम डिपार्टमेन्टबाट बोलेको हो भन्दै तपार्इंको फेसबुक ह्याक भएर अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको बताउने गरिएको’ उल्लेख थियो । त्यसरी फोन गर्ने वा सम्पर्कमा आउनेले अपरिचितसँग भेरिफिकेसनका लागि भन्दै नग्न फोटो/भिडियो माग्ने गरेको भन्दै ब्युरोले सतर्क हुन र यसबारे सूचना दिन आग्रह गरेको थियो ।

विभिन्न व्यक्तिले फोन वा म्यासेन्जरमा आफ्नो नग्न फोटो/भिडियो भेरिफिकेसनका लागि माग्ने र नदिए जे पनि हुने भन्दै आफूलाई धम्की आएको सूचना ब्युरोमा पुगेपछि यस्तो विज्ञप्ति जारी गरिएको थियो । इन्टरनेटमार्फत अश्लील फोटो र भिडियोका कारोबारीले यस्तो गरेको हुन सक्ने र कतिपय अवस्थामा यस्ता कारोबारीको सम्पर्क अन्तर्राष्ट्रिय बालयौन दुराचारीहरूसँग पनि हुन सक्ने ब्युरोका अधिकारीहरू अड्कल काट्छन् । ब्युरोका एसएसपी नविन्द अर्यालले कुनै गिरोहले नै आफूलाई साइबर क्राइम डिपार्टबाट बोलेको भन्दै अपरिचितहरूसँग सम्पर्क राखिरहेको बताए । उनले यस्तो गिरोहको टार्गेटमा १८ वर्षमुनिका बालबालिका बढी परेको र कैयौंले आफूहरूलाई यसबारे सूचना दिएको बताए । उनले भने, ‘धेरैले सचेत भएर तुरुन्तै प्रहरीमा खबर गरेको पाइयो भने केहीले डरका कारण कसैलाई नभनी आफ्नो नग्न फोटो वा भिडियो गिरोहका सदस्यले भनेअनुसार दिएको पनि पाइयो ।’ यस्तो घटनाबाट पीडित हुनेहरू सम्पर्कमा आउने क्रम जारी रहेको र अझै केही सातापछिसम्म पीडितहरू आउन सक्ने उनको भनाइ छ ।

नग्न फोटो र भिडियो खोज्ने गिरोहको उद्देश्य के हुन सक्छ त ? एसएसपी अर्याल भन्छन्, ‘त्यस्ता फोटो र भिडियो इन्टरनेटका विभिन्न माध्यममा राखेर कारोबार गर्ने वा तिनै सामग्री देखाएर निरन्तर यौनशोषण गर्ने जे पनि उद्देश्य हुन सक्छ ।’ ब्युरोले गरेको अनुसन्धानमा यस्तो घटनामा विदेशबाट इन्टनरेट र कल बाइपासमार्फत कल आउने गरेको, नक्कली आईडीको प्रयोग भएको देखाएको छ ।

१८ वर्षभन्दा कम उमेरका किशोरीसँग फेसबुकमार्फत साथी बन्ने, विश्वासमा लिएर नग्न फोटो/भिडियो हात पार्ने अनि त्यही सार्वजनिक गर्ने धम्की दिएर शोषण गर्नेदेखि त्यस्ता सामग्री अरूलाई वितरण गर्नेसम्मका घटना ब्युरोमा आएका छन् । गत असोज २ गते ब्युरोले अश्लील फोटो/भिडियो राखेर फेक फेसबुक आईडी बनाउने एक युवकलाई पक्राउ गर्‍यो । उनले १४ वर्षमुनिका बालिकालाई टार्गेट गर्दै उनीहरूबाट अश्लील फोटो भिडियो संकलन गर्ने गरेका थिए । यस्तै, १७ वर्षीया किशोरीलाई एक युवकले सामाजिक सञ्जालमार्फत सम्पर्क राखेर करकापमा पारी नग्न फोटो/भिडियो संकलन गरी निरन्तर शोषण गरिरहेको समेत भेटियो ।

कोरोना संक्रमणका कारण भएको लकडाउन र असहज परिस्थितिमा कसरी ‘भर्चुअल यौन हिंसा’ भइरहेको छ भनेर यी घटनाले बुझाउँछन् । ब्युरोले अहिले पनि सामाजिक सञ्जाल र इन्टरनेटका अन्य माध्यमबाट बालयौन अश्लीलतासम्बन्धी फोटो/भिडियो संकलन गर्ने वा प्रचारप्रसार गर्ने केही घटनामाथि अनुसन्धान गरिरहेको छ । ब्युरोका एक अधिकारीका अनुसार अनुसन्धान जारी रहेका बालबालिकको नग्न फोटो/भिडियोको दुरुपयोगसम्बन्धी कतिपय घटनामा पीडितको पहिचान गर्न सकिएको छैन भने कतिपय अनुसन्धान प्राविधिक रूपमा पुष्टि हुन बाँकी छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै प्रहरीको साइबर ब्युरोमा ९ बालक र ३७ बालिका जोडिएका साइबर अपराधका निवेदन आएका थिए । यस्ता अधिकांश निवेदनमा बालबालिका भर्चुअल यौन हिंसाको सिकार बनेको वा त्यस्ता अपरिचित समूहको फन्दामा पर्न खोजेको घटना उल्लेख्य छ । ‘कैयौं घटनामा त अभिभावक र बालबालिकाबीच संवादकै कमी देखियो । बालबालिकाको इन्टरनेट गतिविधिबारे सामान्य सोधपुछ नराख्दा यस्ता घटनाबाट बालबालिका झनै पीडित बन्दै गएको देखियो,’ ब्युरोको प्रमुख एसएसपी नविन्द अर्यालले भने ।

साभार :कान्तिपुर अनलाइनबाट