नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा बेञ्चमै सीमित भए। दिल्ली क्यापिटल्सले सन्दीपलाई सिजनमा कुनै पनि खेलमा मौका दिएन।

वेस्ट इन्डिजदेखि अस्ट्रेलियासम्मका फ्रेञ्चाइज लिगका टिमको प्लेइङ-११ मा नियमित स्थान बनाउने सन्दीपलाई दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पहिलो रोजाइमा राख्न आवश्यक ठानेनन्।

ट्रिनिडाड एन्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग खेलेर उतैबाट आइपिएलका लागि युएई पुगेका सन्दीपले कुनै पनि खेल खेल्न नपाउलान् भन्ने कमैले सोचेका थिए। किनभने सिपिएलमा सन्दीपले जमैका तलावाजबाट समूह चरण र सेमिफाइनल गरी सबै ११ खेल खेल्दा १२ विकेट लिन सफल भएका थिए।

सन्दीपलाई सिपिएलमा जस्तो आइपिएलमा प्लेइङ–११ मा पर्न सहज भएन। किनकी प्लेइङ–११ मा पर्न सन्दीपले दिल्लीका अनुभवी स्पिनर र प्रतिभाशाली विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्‍यो।

सुरुवाती खेलमा दिल्लीले चार जना विदेशी खेलाडीको कोटामध्ये दक्षिण अफ्रिकाका तीव्र गतिका बलरद्वय कागिसो रबाडा र एनरिच नोकियालाई स्थान दियो। दुबै जनाले फाइनलसम्म नियमित खेले।

बाँकी दुई कोटामा दिल्लीले अस्ट्रेलियाका अलराउन्डर मार्कोस स्टोइनिस र वेस्ट इन्डिजका ब्याट्सम्यान शिमरन हेटमेयरलाई टिममा स्थान दियो।

स्पिनरमा दिल्लीले सुरुवाती खेलमा अनुभवी स्पिनरद्वय रविचन्द्रन आस्विन र अमित मिश्रा तथा अक्षर पटेलमाथि विश्वास देखायो। पहिलो खेलमा आस्विन घाइते हुँदा मिश्राले त्यसपछिका केही खेलमा मुख्य स्पिनरको रूपमा खेले। ब्याटिङ पनि गर्न सक्ने पटेलले भने नियमित रूपमा प्लेइङ–११ मा स्थान पाए।

स्पिनर कोटामा दिल्लीले सन्दीपलाई राख्नु पर्ने आवश्यकता कुनै पनि बेला ठानेन। किनकी दिल्लीका स्पिनरले सबै खेलमा एकनासको खेल देखाएका थिए।

तीन जना विदेशी खेलाडीले पनि आफूलाई दिल्लीका मुख्य खेलाडीको रूपमा उम्भाए। विदेशी खेलाडीहरु रबाडा, नोकिया र स्टोइनिसले सबै खेलमा प्रभावशाली खेल देखाए। जसका कारण दिल्लीले तीनै जनाको फाइनलसम्म नियमित खेलायो।

ब्याट्सम्यान शिमरन हेटमेयरले सुरुवाती खेलमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। त्यसैले दिल्लीले कहिले अलराउन्डर ड्यानियल साम्सलाई त कहिले विकेटकिपर एलेक्स क्यारीलाई स्थान दियो।

टिमलाई चाहिएको बेला ब्याटिङ गर्ने क्षमता नभएका कारण सन्दीपले विदेशी कोटामा यस सिजनको आइपिएलमा स्थान पाउन नसकेको देखिन्छ।

आइपिएल जारी रहँदा दिल्लीका मुख्य स्पिनर अमित मिश्रा घाइते भएका थिए। मिश्रा सिजनका बाँकी खेल खेल्न नसक्ने अवस्थामा पुगे। त्यसपछि सन्दीपले प्लेइङ-११ मा स्थान पाउनेआशा गरिएको थियो। तर दिल्लीले मिश्राको स्थानमा अर्का लेगस्पिनर प्रविन दुबेलाई भित्र्यायो। भारतीय लेपस्पिनर दुबे भित्रिएकाले सन्दीपलाई घाटा पर्‍यो।

लेगस्पिनर दुबेले मंगलबार भएको मुम्बईविरुद्धको फाइनलसहित ३ खेलमा मौका पाए। तर उनले तीनै खेलमा विकेट लिन भने सकेनन्।

यही सिजनमा अनुभवी स्पिनर आस्विन दिल्लीमा आएकाले पनि सन्दीपको स्थान गुमेको देखिन्छ। किनभने किंग्स-११ पञ्जावको कप्तान रहिसकेका भारतीय राष्ट्रिय टिमका नियमित खेलाडी आस्विन ब्याटिङ गर्न सक्ने खुबी भएका खेलाडी हुन्।

अघिल्ला सिजनका केही खेलमा मिश्राको स्थान लिएका सन्दीपलाई यो सिजन आस्विनको स्थानमा खेलाएर दिल्लीले खतरा मोल्न चाहेन।

सन् २०१८ मा दिल्लीमा आवद्ध भएका सन्दीपले सो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए। त्यतिबेला दिल्ली प्लेअफ दौडबाट बाहिरिसकेको अवस्था थियो। कतिपयले सन्दीपलाई महत्वपूर्ण खेल नभएकाले स्थान दिएको विश्लेषण गरेका थिए।

२०१९ को सिजन भने सन्दीपले ६ खेल खेलमा मौका पाए। तर एकनासको प्रदर्शन गर्न नसक्दा सन्दीपलाई गत सिजन पनि नियमित टिममा स्थान बनाउन मुस्किल परेको थियो।

सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए। कुनै पनि खेलमा मौका नपाउँदा २०२० सिजनमा भने सन्दीपका लागि बिर्सनलायक बन्यो।

दिल्लीसँग सन्दीपको यो अन्तिम सिजन हो। सन्दीपले आगामी सिजनको आइपिएल टिममा स्थान बनाउन अब अक्सनबाट छानिनु पर्ने हुन्छ।

सम्झौताको अन्तिम सिजनमा खेल्न नपाउँदा सन्दीपको आगामी सिजनमा आइपिएल यात्रा पनि अनिश्चित बनेको छ।

आगामी सिजनको आइपिएलमा अक्सनबाट छानिनका लागि सन्दीपका लागि अर्को महिना हुने अस्ट्रेलियाको बिग ब्यास लिग महत्वपूर्ण हुने देखिन्छ।

सन्दीपले यस सिजनको बिग ब्यासका लागि अहिलेसम्म कुनै पनि टिममा सम्झौता गरिसकेका छैनन्। सन्दीपका सहयोगी रमन सिवाकोटीले सन्दीपले यो सिजन मेलवर्न स्टार्सबाट खेल्ने सम्भावना कम भएको बताइसकेका छन्। सिजनको बिग ब्यासमा अन्य टिममा सम्झौता गर्न कुराकानी भइसकेको सिवाकोटीको भनाइ छ।

सिजनको बिग ब्यास टिममा आवद्ध भएर उत्कृष्ट खेलेको खण्डमा मात्र सन्दीपका लागि आगामी सिजन आइपिएल टिममा आबद्ध हुन सहज हुने देखिन्छ। किनभने बिग ब्यास लिग चलिरहेको अवस्थामा २०२१ को आइपिएलका लागि अक्सन हुने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय