भरतपुर महानगरपालिकाको मतगणनामा अहिले तनाव सिर्जना भएको छ । माओवादीले मतपत्र च्यातेपछि तनाव सिर्जना भएको हो ।
मत गणनास्थलमा मेयर पदका उम्मेदवार एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला मतगणनामा माओवादीका तर्फबाट एजेन्ट बसेका मधु न्यौपानेले मतपत्र च्यातेका थिए । न्यौपाने माओवादीको वाईसीएल चितवनका जिल्ला इन्चार्ज हुन् । उनले मतपत्र च्यातेपछि तनाव बढेको थियो ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमाले र माओवादी-काँग्रेस गठबन्धनका कार्यकर्ताबीच तनाव सिर्जना भएपछि प्रहरीलाई स्थिति सम्हाल्नहम्मे हम्मे परेको छ । प्रहरीले मतगणनास्थलमा लाठीचार्ज समेत गरेको छ । प्रहरीका एसपीले गोली हान्न आदेश समेत दिएका छन् ।
वडा नम्बर १९ को जारी मतगणनामा कम भोट आएको भन्दै माओवादीले मतपत्र च्यातेको मतगणनास्थलमा रहेका प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले जानकारी दिए । यसअघिदेखि नै माओवादीले बबाल गर्ने संकेत देखिएपछि एमालेले आफ्ना कार्यकर्ताहरुलाई सजग गराएको थियो । अहिले मतगणना स्थगित भएको छ ।
अहिलेसम्मको मतगणनामा एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । वडा नम्बर १९ मा २८ सय ६० मत खसेको थियो । वडाको १८ सय मतगण्ना हुँदा माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली ७३३ मतले अगाडि छन् । रेणुले धेरै मतान्तर घटाउन सकिनन् ।



