चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला तनाब सिर्जना भएको छ । वडा नम्बर १९ मा मतगणना जारी हुँदै गर्दा दलका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि भरतपुरमा तनाव सिर्जना भएको हो ।
सर्वाधिक चासो र चर्चाका साथ हेरिएको भरतपुरलले गणतन्त्र दिवसको दिन पहिलो मेयर पाउने आंकलन गरिएको थियो । तर, एकाएक घटनाक्रम परिवर्तन भएको छ । र, भरतपुर महानगरपालिकाले कहिले मेयर पाउँछ भन्ने अन्योल भएको छ । आइतवार राति दलका प्रतिनिधिहरुले मतगणना स्थलमा लफडा गरेपछि भतपुरको मतगणना अनिश्चित बनेको हो ।
मत पत्र च्यातिएसँगै त्यहाँको मतगणना स्थगित भएको छ । अहिले मतगणना स्थल सिल गरिएको छ । उक्त स्थलको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ ।
मतगणना स्थलमा भएको घटनाको बारेमा निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई जानकारी पठाइसकेको छ । अब निर्वाचन आयोगले अन्तिम निर्णय गरेपछि मतगणनाको टुंगो लाग्ने छ ।
सम्भवत अब वडा नम्बर १९ मा फेरि मतदान हुने छ । वडा नम्बर २० को मतगणना चाहिँ बाँकी रहेको छ ।

के हो घटना ?
आइतवार राति भरतपुरमा मतगणना चलिरहेको थियो । वडा नम्बर १९ को मतगणना चलिरहेको बेलामा उक्त घटना भएको हो । वडा नम्बर २० को त मत पेटिका खोल्नै बाँकी छ ।
बदर मतको संख्यामा विवाद भएपछि वाइसिएलका जिल्ला अध्यक्ष मधु न्यौपानेले मत पत्र च्यातेको प्रहरीले बताएको छ ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिए लगत्तै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । यी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मत गणना ‘क्लाइमेक्स’मा पुगेको बेला विवाद सिर्जना भएपछि आक्रोशित प्रतिनिधिहरु मत पत्र र बाक्सामा झम्टिएका हुन् ।
एमाले कार्यकर्ता गंगा लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मतगणना स्थलमा पाँच मत पत्र च्यातिएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो । एमाले प्रतिनिधिहरुले हार्ने निश्चित भएपछि माओवादीहरुले मत पत्र च्यातेको बताएका छन् । माओवादी प्रतिनिधीहरुले चाहिँ आफूहरुको जित हुँदै गर्दा एमालेले लफडा गरेको बताएका छन् ।

के भन्छन् निर्वाचन अधिकृत ?
चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू पिसाव फेर्न गएको बेलामा दलका प्रतिनिधिहरुले मत पत्र च्यातेको बताएका छन् ।
उनले आफू पिसा फेरेर फर्कंदै गर्दा मतगणनास्थल ‘रणभूमि’मा परिणत भएको टिप्पणी गरे । आइतवार राति १२ बज्न लाग्दै गर्दा मतपत्र च्यातिएको थियो ।
उनले घटनाको विषयमा छानविन भइरहेको र सोको रिपोर्ट केन्द्रमा पठाइने बताए । मतदान पछि मतपत्र च्यातिएको खण्डमा त्यसको विषयमा अन्तिम निर्णय गर्ने निर्वाचन आयोगलाई छ ।
के गर्दै छ निर्वाचन आयोग ?
निर्वाचन आयोगले मतगणना स्थलबाट रिपोर्टहरु आइरहेको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले छानविनका लागि रिपोर्टहरु मगाउने काम भइरहेको बताए ।
‘घटनाको अनुसन्धानका लागि निर्देशन दिइएको छ,’ प्रवक्ता शर्माले भने, ‘छानविनपछि के कस्तो रिपोर्ट आउँछ त्यसको अध्ययनपछि मात्रै मतगणना सुचारु गर्ने या के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिन्छ ।’

यसो भन्छ प्रहरी
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले ६ वटा समुहमा मतगणना भइरहेको अवस्थामा दुई वटा समुहमा विवाद भएको बताएका छन् । विवाद हुँदै गर्दा दलका प्रतिनिधिहरु बाँदर झैं उफ्रीएर मत पत्र समात्न गएको उनले बताए ।
‘उनले ५ वटा जति मत पत्र च्यात्दै गर्दा म त्यहाँ गएँ,’ उनले भने, ‘उनलाई तत्काल समातियो, त्यसपछि फेरि अर्को व्यक्ति अघि बढेर मत पत्र च्याते ।’
च्यात्नेहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी रहेको उनले बताए ।
उनले गन्दै गरेका पाँच वटा जति मत पत्र च्यातिएको बताए । उनले च्यातिएका सबै मत पत्रलाई एकै ठाउँमा जम्मा गरेर राखिएको बताए । तर अहिले मुख्य निर्वाचन अधिकृतले अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि मत गणना स्थगित गरेको उनले बताए ।
अहिले मतगणना स्थल सिल भएको छ । यहाँ वरिपरि निषेधित क्षेत्र घोषणा गरेका छौं ।

रेणुको दावी
उक्त घटनालाई दिएर दुबै दलका फरक फरक धारणा सार्वजनिक भएका छन् । आफ्नो मतान्तर घट्दै गएपछि एमालेका कार्यकर्ताले षड्यन्त्र गरेको माओवादीका तर्फबाट मेयर उम्मेदवार रेणु दाहालले बताइन् ।
बदर मतको संख्यामा विवाद भएको र त्यसपछि झडपको जस्तै अवस्था सिर्जना भएको उनले बताइन् । त्यसपछि मतपत्र च्यात्ने काम भएको उनले बताइन् । आफूले जित्ने अवस्था आउँदै गर्दा एमालेका साथीहरु आत्तिएको उनले दावी गरिन ।
मतगणना स्थलबाट माओवादी कार्यकर्ता मात्रै नभएर एमालेका कार्यकर्ता पनि पक्राउ परेको बताइन् । आफूले जित्दै गर्दा एमालेले षड्यन्त्र गरेको र माओवादीलाई चाहिँ त्यसको आरोप लगाउन खोजिएको उनले बताइन् ।
उनले चुनावमा हार जित जे भए पनि त्यो परिणाम स्वीकार्नको लागि तयार रहेको बताइन् ।

देवी भन्छन् — हार्ने भएपछि माओवादीले च्याते
एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले आफूले जित्न लागेपछि माओवादीहरुले मत पत्र च्यातेको बताए । ‘माओवादी साथीहरुले आतंककारी शैलीमा मत पत्र च्यात्नुभयो,’ उनले भने, ‘उहाँहरु आत्तिनुभएको हो, हामीले चाँडो मतगणना सुचारु गर्न आग्रह गरिरहेका छौं ।’
वडा नम्बर १९ को मतगणना चल्दै गर्दा विवाद भएको थियो । मत पत्र च्यातिने समयमा देवीले ७ सयले लिड गरेका थिए । तर वडा नम्बर १९ र २० मा आफूहरुको पक्षमा धेरै मत खस्ने अनुमान सत्ता पक्षले गरेको थियो ।
यस विषयमा चितवनका माओवादी नेता नारायण दाहालले फेरि १९ नम्बर वडामा फेरि मतदान हुनुपर्ने बताए । तर एमालेले चाहिँ केही मत पत्र च्यातिएको भएपनि ती मत पत्र प्रहरीको सुरक्षा घेरामै रहेकोले फेरि मतदान हुन नसक्ने बताएको छ ।लोकान्तर



