चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगद्वारा गठित समितिले काम सुरु गरेको छ ।
सह–महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वको तीन सदस्यीय टोली चितवन पुगेर काम थालेको हो । समितिले मंगलबार जिल्लास्थित राजनीतिक पार्टीका प्रमुखसँग घटनाबारे बयान लिएको छ ।
समितिले काँग्रेस चितवनका सभापति जितनाराणय श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र माओवादी केन्द्रका इन्चार्ज ईश्वरी भट्टराई लगायतसँग बयान लिएको हो । बयानका क्रममा काँग्रेस–माओवादीले एमाले र एमालेले माओवादी कार्यकर्ताले मतपत्र च्यातेको बयान दिएका छन् ।
सांसद समेत रहेका एमाले अध्यक्ष पोखरेल बयानका क्रममा आक्रोशित देखिए । उनले यस्तै प्रकारले निर्वाचन गर्ने र मतगणनामा आफूले हार्ने भएपछि च्यात्ने प्रवृत्ति संस्थागत हुने हो भने निर्वाचनको औचित्य नरहेको बताए ।
‘आफूले हार्ने निश्चित भएपछि मतपत्र च्यातिदियो, एक बोत्तल पानी मतपेटिकामा खन्याइदियो । अनि पुन: निर्वाचनको माग गर्ने हो भने निर्वाचनको औचित्य सकियो ।’ पोखरेलले घटनामा संलग्न माओवादी कार्यकर्तामाथि निर्वाचन ऐनमा व्यवस्था भएअनुसार हदैसम्मको कारबाही गरी स्थगित मतगणना सुचारु गर्न माग गरे ।
पोखरेलले मतपत्र च्यातिएको भरतपुरको १९ नम्बर वडामा पुनः निर्वाचन भए एमाले सहभागी नहुने चेतावनीसमेत दिए । घटनाको विरोधमा बिहीबार एमालेले संसद बैठकसमेत अवरुद्ध गर्ने भएको छ ।
काँग्रेसका श्रेष्ठ र माओवादी केन्द्रका भट्टराईले भने एमाले मेयरका उम्मेदवार देवी ज्ञवाली पराजित हुने निश्चित भएपछि मतपत्र च्यातिएको दाबी गरेका छन् । उनीहरुले १९ नम्बर वडामा पुनः मतगणना हुनुपर्ने माग गरेका छन् ।



