काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् ।

शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भएका हुन् । पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका थिए ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन् ।

जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान प्यानलको वर्चस्व छ ।

अब एक ढिक्का हुन्छौँ

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले चुनाव सकिएसँगै पक्षधरता पनि सकिएको बताएका छन् ।

उनले अव जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् ।

बिहान चुनाव जितेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै अब शेखर गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए ।

‘चुनाव हारेपनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं,’ उनले भने, ‘मलाइ विश्वास गर्ने सबैमा धन्यवाद ।’

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसअर्थमा वरिष्ठ उपाध्यक्ष ढकालले आगामी कार्यकालमा महासंघको २०औं अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।