दोस्रो चरणको निर्वाचनको मिति सरकारले फरि सारेको छ ।
मन्त्रिपरिषदप्को बुधबार बसेको बैठकले दोस्रो चरणको निर्वाचन फेरि सार्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री विमलेन्द्र निधिले असार १४ गते निर्वाचनको अर्को मिति तय गरिएको बताए ।
उनले मौसम विभागसँग पनि कुरा गरेर १४ गते मिति तय गरिएको जानकारी दिए । “हामीले मौसम विभागसँग पनि कुरा गर्यौं,” उनले भने, “मौसमकै कारणले पनि ९ गते र १४ गते फरक पर्दैन भनेपछि त्यहीअनुसार अघि बढ्ने निर्णय गर्यौं । कानुनी प्रावधानअनुसार निर्वाचन आयोगसँग पनि छलफल गरेका थियौं । १४ गते गर्न सकिने निर्वाचन आयोगले पनि भनेपछि सोहीअनुसार निर्णय गरेका हौं ।”
उनले प्रमुख प्रतिपक्ष दलका नेतासँग पनि यसबारेमा कुराकानी गरिएको बताए । यसअघि सरकारले राजपाका नेताहरुलाई चुनावमा सहभागी गराउन जेठ ३१ गते निर्वाचनको मिति तय गरेको थियो ।
तर फेरि उनीहरुसँगको सहमतिमै निर्वाचनको मिति असार ९ गतेका लागि सारिएको थियो । असार ९ गते मुस्लिम पर्वको महत्वपूर्ण दिन भएकाले फेरि असार १४ गते गर्ने निर्णय सरकारले गरेको हो ।



