भारतको कर्नाटकमा एक पिताले छोरीलाई अन्लाइन क्लास लिनका लागि आफ्नो मोबाइल फोन दिँदा बदमासी उजागर भएको छ । ती पिताको विवाहेतर सम्बन्धका बारेमा छोरीले फोनबाट जानकारी पाएकी छन् ।
छोरीले अर्की महिलासँग आफ्ना पिताको अन्तरंग भिडियो देखेपछि आमालाई खबर गरेकी थिइन् । आमाले पितालाई सजाय दिलाउन कोशिश गरिरहेकी छन् ।
प्रहरी र स्वयंसेवी संस्थाहरूले पारिवारिक झगडा मिलाउन प्रयास गरिरहेका छन् ।
महिला आफ्नो पतिसँग पारपाचुके चाहन्छिन् भने पति चाहिँ परिवारसँगै बस्न जिद्दी गरिरहेका छन् । उनीहरूको विवाह भएको १८ वर्ष बितिसकेको छ र दुई छोरी छन् ।
पतिले आफ्नो विवाहेतर सम्बन्ध निकै वर्षसम्म गोप्य राखेको भए पनि गत अक्टोबर महिनामा छोरीलाई अन्लाइन क्लास लिन मोबाइल दिएपछि भण्डाफोर भएको हो । फोन हेर्दै जाँदा छोरीले भिडियोमा पितालाई अर्की महिलासँग आपत्तिजनक स्थितिमा देखिन् । ती अर्की महिला पनि नातेदार नै हुन् ।
प्रहरीका अनुसार, विवाहेतर सम्बन्ध कसूर हैन त्यसैले ती पुरुषविरुद्ध मुद्दा लाग्दैन । तर महिलासँगको आपत्तिजनक भिडियो राखेकोमा उनलाई सूचना प्रविधि ऐनअन्तर्गत अभियोजन गर्न सकिन्छ ।



